विपदबाट जोगिन हुम्ला प्रशासनको आग्रह

विपदबाट जोगिन हुम्ला प्रशासनको आग्रह

२०८३, आश्विन ७ बुधवार

  • 249
    SHARES

  • विपदबाट जोगिन हुम्ला प्रशासनको आग्रह

    हुम्ला । मौसम विज्ञान विभागले असोज ९ गतेदेखि ११ गतेसम्म नेपालमा भारी वर्षा हुने सम्भावना रहेको सूचना सार्वजनिक गरेसँगै जिल्ला प्रशासन कार्यालय हुम्लाले जिल्लावासीलाई सो अवधिमा सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासन कार्यालयले एक सार्वजनिक सूचना प्रकाशन गरेर उक्त अवधि सवैले आआफ्नो स्थानमा सचेत रहन र आफ्नो टोल छिमेकलाई पनि सचेत रहन जानकारी गराउन अनुरोध गरेको हो।

    असोज ९ गतेबाट ११ गतेसम्म भारी वर्षाको सम्भावना रहेको जानकारी मौसम विज्ञान बिभागबाट भएअनुसार जिल्लावासीले पनि विशेष सतर्कता अपनाउन सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रविर शाहीले आग्रह गरे। यो अवधिमा विशेष काम नपरी यात्रा नगर्न समेत उनले जिल्लावासीलाई आग्ह गरेका छन। प्रशासन कार्यालयले जिल्लाका धेरैजसो भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ।

    उक्त अवधिमा भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, आकस्मिक बाढी, पहिरो, गेग्रान बहाव तथा डुबानको जोखिम रहेको प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ।प्रतिकूल मौसमका कारण सडक तथा हवाई यातायातसमेत अवरुद्ध हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको सहायक प्रजिअ शाहीले बताए।

    जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन भन्दै नदी तथा खोला किनार, पहिरोको जोखिम भएका भिरालो जमिन र डुबान क्षेत्रका बासिन्दालाई पूर्वतयारी अपनाउन तथा जोखिमको सङ्केत पाउनेबित्तिकै सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

    यस्तै, अति आवश्यक कामबाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न र यात्रा गर्नै परेमा पहिले सडक तथा मौसमको अद्यावधिक अवस्थाबारे जानकारी लिन समेत आग्रह गरेको छ। बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिनसमेत अनुरोध गरिएको छ। पशुचौपाया, खाद्यान्न, औषधी तथा महत्त्वपूर्ण कागजात सुरक्षित स्थानमा राख्न आग्रह गरेको छ।

    भ्रामक अफवाहको पछि नलागी मौसम विज्ञान विभाग, प्रदेश सरकार, स्थानीय तह तथा सुरक्षा निकायबाट जारी हुने आधिकारिक पूर्वसूचना र निर्देशन मात्र पालना गर्न सूचनामार्फत आग्रह गरिएको छ। सबै सम्बन्धित निकाय, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा सरोकारवालालाई उच्च सतर्क अवस्थामा रहन र सम्भावित विपदमा परेका नागरिकलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ। त्यसैगरि प्रहरीले सदरमकाुम सिमकोटमा माईकिङ गरेर पनि सचेत रहन आग्रह गरेको छ।

    २०८३, आश्विन ७ बुधवार०७:०६:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार