मनोहरा करिडोर निर्माण सम्पन्न

मनोहरा करिडोर निर्माण सम्पन्न

२०७७, माघ १४ बुधवार

  • 1.5K
    SHARES

  • मनोहरा करिडोर निर्माण सम्पन्न

    माघ १४, काठमाडौँ ।

    कोटेश्वर–जडीबुटी सडकको सवारी चाप कम गर्ने विकल्पका रूपमा रहेको मनोहरा करिडोर निर्माण सम्पन्न भएको छ ।

    बालकुमारी पुलबाट मनोहरा किनारै किनार लोकन्थली र नरेफाँट जोड्ने बेलिब्रिजसम्मको सडक कालोपत्र भएको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । यो करिडार निर्माण शुरु भएको आठ वर्षपछि सम्पन्न भएको डिभिजन प्रमुख कुवेर नेपालीले बताए । 

    उनका अनुसार डिभिजनअन्तर्गत ‘क्रोनिक’ ठेक्काका रूपमा रहेको यो ठेक्का सम्पन्न हुँदा ललितपुरबाट भक्तपुरतर्फ जाने सवारी साधन कोटेश्वर–जडीबुटी नगएर सिधै बालकुमारीबाट लोकन्थली जान सक्नेछन् ।

    करिडोरको सडक निर्माण सम्पन्न भए पनि धेरैलाई जानकारी नभएको उनले बताए । उनले भने “धेरैलाई जानकारी भएपछि र करिडोर प्रयोग बढेपछि कोटेश्वर–जडीबुटी सडकको जाम कम हुनेछ ।”

    डिभिजनले विसं २०७०/७१ मा सो सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरेको थियो । सडकको बजेट झण्डै रु १५ करोड छ भने यो खण्डको लम्बाइ एक दशमलव दुई किलोमिटर छ ।

    यसअघि नै बल्खुबाट वाग्मती किनारैकिनार बालकुमारीसम्म करिडोर सञ्चालनमा छ । यसले गर्दा बल्खुबाट कुनै पनि सवारी साधन मुख्य सडक नपुगी भक्तपुर पुग्न सक्नेछ ।

    सरकारले मुख्य सडकको सवारी चाप कम गर्न वाग्मती र त्यसका सहायक नदीहरुमा करिडोर निर्माण अघि बढाइरहेको छ । वाग्मती, धोबीखोला, नक्खु, विष्णुमती, मनोहरालगायतका नदीमा करिडोर निर्माण अघि बढाइरहेको छ ।

    उपत्यकाकै बढी सवारी चाप रहेको सडकमा पर्ने जडीबुटीबाट कोटेश्वरको जाम कम गर्न विभिन्न विकल्प खोजिरहेको सडक विभागले करिडोर निर्माणलाई पनि विकल्पका रूपमा निर्माण अघि बढाएको हो । त्यससँगै विभागले कोटेश्वर–जडीबुटी सडकमा तीन लेन थप्ने गरी विस्तार गरिरहेको छ ।

    सोही सडकको चाप कम गर्न मनोहरा करिडोर नै बेलिब्रिजबाट लोकन्थली पुलमुनि हुँदै पेप्सीकोलासम्म करिडोर निर्माणको योजना बनाइएको छ । आगामी आवमा पेप्सीकोला टाउनप्लानिङसम्म करिडोर निर्माण भएपछि सो खण्डको चाप अझै घट्ने अपेक्षा गरिएको छ । 

    २०७७, माघ १४ बुधवार०९:०८:४९
    प्रतिक्रिया
    सम्बन्धित समाचार