झापामा चिकित्सकलाई पहिलो खोप

झापामा चिकित्सकलाई पहिलो खोप

२०७७, माघ १४ बुधवार

  • 1.2K
    SHARES

  • झापामा चिकित्सकलाई पहिलो खोप

    माघ १४, मोरङ ।

     झापा, भद्रपुर, बिर्तामोड र दमकस्थित सरकारी अस्पतालमा आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन शुरु गरिएको छ ।

    मेची प्रादेशिक अस्पताल भद्रपुरमा डा मनिष सुवेदी र अनारमनी स्वास्थ्य केन्द्र विर्तामोडमा डा हेमन्त राठीले पहिलो खोप लगाएका छन् । डा सुवेदी मेची प्रादेशिक अस्पताल र डा राठी लावण्य हेल्थकेयर क्लिनिकमा कार्यरत हुन् ।

    जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले खोप अभियानको शुभारम्भ गरे ।

    सो अवसरमा प्रजिअ श्रवणकुमार तिम्सिनालगायतका सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति थियो ।

    विर्तामोडस्थित अनारमनी स्वास्थ्य केन्द्रमा स्थानीय नगरप्रमुख ध्रुव शिवाकोटीले खोप अभियान सफलताको शुभकामना मन्तव्य व्यक्त गरेर अभियानको प्रारम्भ गरे भने दमक अस्पतालमा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले अभियानको शुभारम्भ गरे ।

    पहिलो चरणको खोप कोभिड–१९ को महामारीविरुद्ध अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स र शववाहनका चालक, सुरक्षाकर्मी र व्यवस्थापकीय कार्यमा खटिएका कर्मचारीलाई लगाइएको प्रजिअ श्रवणकुमार तिम्सिनाले बताए ।

    झापामा नौ हजार जनालाई पुग्ने गरी भारतमा उत्पादित कोभिशिल्ड नामक कोरोना खोप सरकारले पठाएको छ । देब्रे पाखुरामा स्वास्थ्यकर्मीले खोप लगाएका थिए । आधा मिलिलिटर मात्रामा खोप पाखुराको मासुमा लगाइने र दोस्रो खेप चार हप्तापछि लगाइने फोकल पर्सन चौलागाईंले जानकारी दिए ।

    झापाको मेची अस्पतालमा भद्रपुर, मेचीनगर, हल्दिबारी र कचनकबल पालिकाका लागि खोप अभियान सञ्चालन गरिएको छ ।

    यसैगरी अनारमनी स्वास्थ्य केन्द्रमा विर्तामोड, अर्जुनधारा, बुद्धशान्ति, झापा, कनकाई र बाह्रदशी पालिकाका व्यक्तिहरुलाई खोप लगाइने भएको छ । दमक अस्पतालमा दमक, गौरादह, गौरीगञ्ज, कमल र शिवसताक्षी पालिकाका व्यक्तिहरुले खोप लगाउनेछन् । 

    २०७७, माघ १४ बुधवार०५:४०:४१
    प्रतिक्रिया
    सम्बन्धित समाचार