कीर्तिमानी आरोहीले देशको गौरव बढाएः सञ्चारमन्त्री गुरुङ

कीर्तिमानी आरोहीले देशको गौरव बढाएः सञ्चारमन्त्री गुरुङ

२०७७, माघ २० मंगलवार

  • 2.0K
    SHARES

  • कीर्तिमानी आरोहीले देशको गौरव बढाएः सञ्चारमन्त्री गुरुङ

    माघ २०, काठमाडौं ।

    सरकारले विश्वको दोस्रो अग्लो हिमाल ‘माउन्ट केटु’ को सफल आरोहण गरी कीर्तिमान कायम गर्ने निर्मल पुर्जा (निम्स) सहित १० आरोहीलाई सम्मान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज कीर्तिमानी आरोहीलाई सम्मान गरेको हो । 

    दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नं ९ कार्यालयले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी आरोहीलाई सम्मान गरिएको हो । सो अवसरमा सञ्चारमन्त्री पार्वत गुरुङले सम्मान–पत्रसहित केटु आरोहण गर्ने कीर्तिमानी आरोहीलाई सम्मान गरे । उनीहरुलाई गौरीशङ्कर –९ कार्यालयले पनि छुट्टै सम्मानपत्र दिई सम्मान गरेको छ ।

    सम्मानित हुनेमा पुर्जा सँगै मिङ्मा ग्याल्जेन शेर्पा, मिङ्माडेबिड शेर्पा, मिङ्मा तेञ्जिङ शेर्पा, पेमाछिरी शेर्पा, दावा शेर्पा, किलु शेर्पा, मिङ्मा जी, दावातेञ्जिङ शेर्पा र सोनु शेर्पा छन् । उनीहरु मध्ये सोनु शेर्पा आरोहणका क्रममा पाकिस्तानमा रहेकाले उपस्थित भएनन् ।

    पाकिस्तान र चीनको सिमानामा रहेको केटु हिमाल (८,६११ मिटर) १० नेपाली आरोहीले माघ ३ गते स्थानीय समय साँझ ५ः१५ बजे आरोहण गरेका थिए ।

    सो अवसरमा सरकारका प्रवक्ता गुरुङले विश्वकै जोखिमयुक्त हिमाल केटुको सफल आरोहण गरेर नेपाली आरोहीले सिङ्गो देशको गौरव बढाएको बताए । 

    उनले आरोहीको उद्गमस्थलका रुपमा पहिचान पाएको दोलखा जिल्लालाई समृद्ध र विकासको नमूना जिल्लाका रुपमा विकास गर्न आफूले प्रभावकारी योजना र कार्यक्रम ल्याउने जानकारी दिए ।

    दोलखाका सबै सडक कालोपत्रे गरिने र दोलखा भएर उत्तर दक्षिण जोड्ने सडक छिट्टै निर्माण प्रक्रिया अघि बढ्ने जानकारी पनि उनले दिए ।  

    कार्यक्रममा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले केटुको कीर्तिमानी आरोहणले नेपालको पहिचानलाई प्रवद्र्धन मात्र नभई पाकिस्तानसँगको सम्बन्धलाई पनि थप प्रगाढ तुल्याउने विश्वास व्यक्त गरे । 

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वाग्मती प्रदेश कमिटीका अध्यक्ष पोखरेलले कोभिड–१९ पछिको पर्यटनलाई गतिशील बनाउन सरोकार पक्ष सक्रिय ढङ्गले लाग्नुपर्नेमा जोड दिए । 

    सम्मानितका तर्फबाट अनुभव सुनाउँदै मिङ्माग्याल्जेनले विश्वकै जोखिमपूर्ण हिमालको चुचुरामा पुग्नु जीवनकै अविष्मरणीय क्षण भएको जनाउँदै नेपालको शानलाई विश्वभर फिँजाउन पाएकामा गौरवान्वित भएको बताए । 

    आरोहण टोलीका नेता पुर्जाले केटु आरोहणले नेपालको पहिचान र गौरवलाई थप उचाइमा पुर्याएको बताए । कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालसहित पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवम् प्रतिनिधि, प्रख्यात आरोही, पर्यटन व्यवसायीलगायतको उल्लेख्य सहभागिता थियो ।

    २०७७, माघ २० मंगलवार०७:१८:०२
    प्रतिक्रिया
    सम्बन्धित समाचार