भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या छ महिनापछिकै न्युन

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या छ महिनापछिकै न्युन

२०७७, माघ २० मंगलवार

  • 3.0K
    SHARES

  • भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या छ महिनापछिकै न्युन

    माघ २०, नयाँ दिल्ली ।  

    भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्या अन्त्यन्त न्युन भएको छ । 

    सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा छ महिना यताकै सबैभन्दा कम सङ्क्रमित भएका छन् । 

    उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ६३५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । 

    केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नयाँ सङ्क्रमितहरुको सङ्ख्या सन्तोषजनक तरिकाले न्युन हुँदै गएको जनाएको छ ।

    यसअघि गत बर्षको सेप्टेम्बर १० मा एकैदिन सबैभन्दा धेरै ९५ हजार ७३५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएका थिए । 

    भारतमा अहिलेसम्म एक करोड सात लाख ६७ हजार २०६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने एक लाख ५४ हजार ५२२ जनाको मृत्यु भएको छ । 

    त्यसैगरी एक लाख ६४ हजार २७८ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको सरकारी अधिकारीहरुले जनाएका छन् । 

    विश्वभरी धेरै सङ्क्रमित भएका देशहरुको सूचीमा भारत दोस्रो क्रममा रहेको छ । भारतमा भन्दा धेरै अमेरिकामा सङ्क्रमित रहेका छन् । अमेरिकामा अहिलेसम्म दुई करोड ६९ लाख ११ हजार ३७५ जना सङ्क्रमित भएका छन् ।

    त्यस बाहेक तेस्रो धेरै ब्राजिलमा, चौथो धेरै रुसमा र पाचौँ धेरै बेलायतमा सङ्क्रमित रहेको पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ ।  

    संगठनका अनुसार अमेरिकामा चार लाख ५४ हजार, ब्राजिलमा दुई लाख २५ हजार, मेक्सिकोमा एक लाख ५९ हजार, भारतमा एक लाख ५४ हजार, बेलायतमा एक लाख ६ हजारको कोरोना संक्रमणबाट मानिसको मृत्यु भइसकेको छ । 

    पछिल्लो विवरण अनुसार विश्वभर १० करोड ३९ लाखभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका र त्यसमध्ये २२ लाख ४८ हजार व्यक्तिको ज्यान गइसकेको छ । एजेन्सी

    २०७७, माघ २० मंगलवार०५:३१:३५
    प्रतिक्रिया
    सम्बन्धित समाचार