विप्लव नेता बाँस्तोलालाई थुनामुक्त गर्न आदेश

विप्लव नेता बाँस्तोलालाई थुनामुक्त गर्न आदेश

२०७७, माघ २३ शुक्रवार

  • 1.1K
    SHARES

  • विप्लव नेता बाँस्तोलालाई थुनामुक्त गर्न आदेश

    माघ २३, काठमाडौँ ।

    सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) नेत्रविक्रम चन्द विप्लब समूहका स्थायी कमिटी सदस्य धमेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतका रजिष्टार र नेपाल बार एसोशिएसनका अध्यक्षको रोहबारमा थुनामुक्त गर्न आदेश जारी गरेको छ ।
          
    न्यायाधीशहरु दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले हिजो थुनामुक्त गर्न आदेश जारी गरेको हो ।

    “स्पष्ट आधार र कारण विनाप्रवृत्त भावनाले निवेदकलाई केवल फरक विचार र आस्था राखेकै कारणबाट मात्र पक्राउ गर्ने र अनुसन्धानका क्रममा भनी थुनामा राख्ने कार्य न्यायिक दृष्टिकोणबाट समेत औचित्यपूर्ण नभएबाट निजलाई बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ”, आदेशमा भनिएको छ । 
          
    यसअघि, यही माघ १५ गते न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले बन्दी बनाउनुको आधार र कारणसहित सूचना प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउन साथै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न भनिएको थियो । 
           
    विप्लब नेकपाका पश्चिम कमाण्ड इञ्चार्ज रहेका बाँस्तोलाकोतर्फबाट हिमा बाँस्तोला सर्वोच्चमा बन्द प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

    गत पुस २९ गते बाँस्तोलासहित चार जनालाई ललितपुरको दक्षिणी भेगबाट प्रहरीले पक्राउ गरेको थियो । बाँस्तोलालाई नख्खुस्थित् एनसेल टावरमा भएको बम बिस्फोटको घटनामा संलग्न रहेको आरोप लागेको छ ।

    २०७७, माघ २३ शुक्रवार०७:२६:४४
    प्रतिक्रिया
    सम्बन्धित समाचार