चित्रकथा ‘कान्छा’ को पाण्डुलिपिमाथि बहस

चित्रकथा ‘कान्छा’ को पाण्डुलिपिमाथि बहस

२०७७, माघ २६ सोमवार

  • 3.7K
    SHARES

  • चित्रकथा ‘कान्छा’ को पाण्डुलिपिमाथि बहस

    माघ २६, काठमाडौँ । 

    नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) का कुलपति अग्रज कलाकार कान्छाकुमार (केके) कर्माचार्यको जीवनीमा आधारित चित्रकथा ‘कान्छा’ को पाण्डुलिपिमाथि आइतवार अग्रज साहित्यकार, लेखक, समालोचक र चित्रकारबीच बहस भएको छ । 

    उक्त पुस्तकका विषयमा कलाकार तथा साहित्यकारले चित्रकार कर्माचार्यको जीवनका आरोहअवरोहलाई जीवन्त रूपमा प्रस्तुत गर्न लेखक विजयराज आचार्यलाई सुझाव दिएका छन् । उनीहरुले कर्माचार्यको जीवनीलाई न्याय दिने गरी पुस्तक तयार होस् भनी शुभकामना दिए । 

    अग्रज लेखक मित्रलाल पङ्गेनीको बुझाइमा कुलपति कर्माचार्यको चित्रले श्वास फेरिरहेको महसुस हुन्छ । कर्माचार्यले विगतमा बुद्ध र माक्र्सको घनिभूत छविको आवरण चित्र बनाएको अहिले पनि सुरक्षित स्मरण रहेको सन्दर्भ जोड्दै पङ्गेनी पोख्त कलाकारलाई वास्तविक कलाकारका रूपमा चित्रण गर्न सकिएन भने दुर्घटना हुने बताउँछन् ।  

    उनले पाण्डुलिपीमा झ्वास्स विषय वस्तुमा पसेर कथानकमा बग्नुपर्नेमा बहाव रोकिएको टिप्पणी गरे । चित्रलाई गति, परिवर्तन र जीवन्ततामा बुझ्ने कलाकार मध्ये एक कर्माचार्य भएको र यो पुस्तकमा उनका खास मोडका खास कुरा समेट्न छुटाउन नहुनेमा उनले जोड दिए । मसिना कुरा समेट्दा प्रभावकारी नहुने उनको सुझाव थियो । 

    सहभागी साहित्यकार, कलाकार तथा लेखकले फितलो सम्वाद र कथाले पुस्तकको ओज घटाउनेतर्फ लेखकलाई सचेत गराउँदै कलाकारको गरिमा जोगाएर पुस्तक तयार गर्न सुझाव दिएका छन् । कलाकारले यो पुस्तकलाई कलाकारको जीवनीसँगै इतिहासको दस्तावेजीकरण गर्न पनि सुझाव दिएका छन् ।  

    समालोचक राजकुमार बानियाँले चित्रकारको विषयमा पनि पुस्तक बन्दो रहेछ भन्ने देखाउन खोज्नु सफल पक्ष हो भने ।

    “पुस्तकको पहिलो दृश्य नै पासो हो, पाठकलाई पासोमा पार्न सकिएन भने फुत्किन्छ”, बानियाँले सुझाव दिँदै भने, “विचारसँग जोड्यो भने साहित्य मर्छ ।” उनले उक्त पुस्तकमा कलाकार कर्माचार्यको वास्तविक कथा आउने विश्वास व्यक्त गरे ।  

    कलाकार केशवराज खनालले मुहार चित्र मात्रै होइन कोलाजलगायत विभिन्न चित्रकलाका सिद्धहस्त कर्माचार्यलाई यो चित्रकथामा जीवन्त कलाकार भनेर चित्रित हुनुपर्नेमा जोड दिए । 

    कृष्णगोपाल श्रेष्ठले पुस्तकमा चित्रकारितासँगै तत्कालीन समयको परिवेश झल्किनुपर्नेमा जोड दिँदै भने, “कलाकारको चित्र नै शक्तिशाली हुन्छ, काठमाडौँ उपत्यका कस्तो थियो, पनौती, भक्तपुर कस्तो थियो, जीवन कथामा बोल्नुपर्छ ।”

    उनले विविधतायुक्त कलाकार कर्माचार्यसँग सम्बन्धित पुस्तक पढेपछि मान्छेलाई उत्प्रेरणाको भोक जगाउन सफल हुनु नै लेखक सफल हुनु हो भने । उनले पाण्डुलिपि हेर्दा लेखकीय पक्ष परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै स्थानीय वेशभूषा र भाषाको सचित्र वर्णनमा जोड दिए । 

    कुलपति कर्माचार्यले लेखक आचार्यले आफ्नै जीवनीको बारेमा पुस्तक तयार पार्ने सुनाउँदा गर्व महसुस भएको स्मरण गरे ।

    आफूले त्यस्तो ठूलो काम केही गरे जस्तो नलागे पनि आफ्नो कामको बारेमा प्रशंसा पाएकोमा खुशी व्यक्त गरे । कर्माचार्यले भावुक हुँदै भने, “यसले मेरो बारेमा धेरै अध्ययन भइरहेको रहेछ भन्ने आज थाहा पाएँ, खुशी लागेको छ ।”

    उक्त अवसरमा कर्माचार्यले आफ्नो बाल्यकाल स्मरण गर्दै सानोमा केही खराब स्वभावसमेत रहेको बताएका छन् । उनले सानैदेखि कुनै नयाँ सामान घरमा आयो भने त्यो बिगारेर फेरि उस्तै बनाउने बानी रहेको सुनाए ।

    त्यसैले पनि उनलाई चित्रकारिताको साधनामा सहयोग पुगेको थियो । उनले एक पटक विभिन्न चलचित्रहलबाट सामग्री बटुलेर चलचित्रको प्रोजेक्टर नै तयार पारेको समेत सुनाए ।  

    चित्रकथा ‘कान्छा’का लेखक आचार्य कुलपति कर्माचार्यको जीवनी हेर्दा ठुलो कथा सङ्ग्रह बन्ने खालको रहेको बताए । उनले जीवनको पाटोमा जे भोग्यो त्यो लुकाउनु हुन्न भन्नेमा आफू सचेत रहेको बताए ।

    आएका सुझावका आधारमा परिमार्जन गरेर पुस्तक निर्माण गर्ने उनले प्रतिबद्धता जनाए । उनले कर्माचार्यको जीवनीसँगै तथ्य कुरा राखेर चित्रकथा तयार पार्न लागेको जानकारी दिए । 

    २०७७, माघ २६ सोमवार०७:१५:०१
    प्रतिक्रिया
    सम्बन्धित समाचार