फागुन ५, काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । समायोजन गरिएको मूल्य हिजो राति १२ बजेदेखि लागू हुनेछ । निगमले डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर रु दुईका दरले वृद्धि गरेको हो ।
मूल्य वृद्धिपछि काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर रु ११४, डिजेल तथा मट्टितेलको रु ९७ र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर रु ६७ कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
मूल्य समायोजन पश्चात् पनि निगमलाई पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ८२ पैसा, डिजेलमा प्रतिलिटर चार रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्यासमा २९५ रुपैयाँ ८३ पैसा घाटा छ ।
अर्धमासिक रुपमा करिब रु ८६ करोड ७८ लाख घाटा नै रहने छ । सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिनेछ ।
मूल्य समायोजन पश्चात् पनि भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३५ रुपैयाँ २९ पैसा र डिजल प्रतिलिटर ४१ रुपैयाँ ४३ पैसाले नेपालतर्फ सस्तो रहेको निगमका प्रवक्ता उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।