भलिबलमा भविष्य खोज्दै  भण्डारी

भलिबलमा भविष्य खोज्दै  भण्डारी

२०७७, फाल्गुण १० सोमवार

  • 1.1K
    SHARES

  • भलिबलमा भविष्य खोज्दै  भण्डारी

    फागुन १०, भजनी । 

    भलिबलका क्षेत्रीय खेलाडी विशाल भण्डारी १७ वर्षको मात्र भए । कम उमेरमा  क्षेत्रीय स्तरमा पुगेका उनी सुदूरपश्चिमका कान्छा खेलाडी  बन्ने सौभाग्य समेत प्राप्त गरेका छन् ।

    कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ का उनी अहिले जुनसुकै भलिबल प्रतियोगितामा सबैभन्दा कान्छा खेलाडीका रुपमा देखिन थालेका छन् । एघार वर्षकै उमेरबाट भलिबल खेलप्रति आकर्षित भएका उनी लाटाभूमुराज युवा क्लबबाट प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुँदै आएका छन् । 

    “मैले भलिबलसँगै क्रिकेटलाई पनि प्राथमिकतामा राखेको थिएँ । छ महिना क्रिकेट खेल पनि सिकें”, उनले भने, “मलाई क्रिकेटभन्दा भलिबलमा रुचि बढ्यो । त्यही भएर भलिबल खेल्दै आएको छु ।”
     
    कञ्चनपुरको आदर्श विद्या निकेतनमा कक्षा १२ मा अध्ययरत उनले खेलसँगै अध्ययनलाई पनि सँगै निरन्तरता दिनुपर्दा समस्या हुने गरेको बताउँछन् ।

    “मेरो घरबाट मलाई खेलकूदमा पूर्ण छुट छ । त्यही विश्वासले म सानै उमेरमा यहाँसम्म पुगेको हुँ ।” उनले भने, “जति बाहिरबाट देख्दा सजिलो लाग्छ । त्यति मैदानमा पुगे सजिलो छैन । तर ममा विश्वास छ म राम्रो खेलाडी भएर देखाउन सक्छु ।”
     
    उनी अहिलेसम्म सहभागी भएका  प्रतियोगितामा पनि सबैभन्दा कम उमेरको आफू नै हुने गरेको र भलिबल खेललाई व्यावसायिकरुपमा अगाडि बढाउने   धोको रहेको बताउँछन्  ।

    उनले सहभागी भएको खेलमा उदयमान खेलाडीको उपाधिसमेत पाउँदै आएका छन् । “महेन्द्रनगर कभर्ड हलमा दुई वर्षदेखि मैले भलिबल सिक्दै आएको छु ।

    गुरुबाट सिकेको सीपलाई राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा पु¥याउने मेरो लक्ष्य छ”, उनले भने, “खेलकूदमा भविष्य छैन भन्नु सान्दर्भिक हुँदैन ।  आफ्नो कर्ममा निरन्तरता दिनसके व्यावसायिक खेलाडी बन्न सकिन्छ ।  म बनेर देखाउने छु ।”
     
    उनलाई खेलाडीकैरुपमा स्थापित भएका कारण विद्यालयले पनि ११ र १२ मा शुल्क लिएको छैन । अहिले अन्तिममा केही शिक्षकले शुल्क माग्दा आफूलाई अध्ययनमा बाधा पुगेको उनले बताए । 

    “परिवारमा कमाउने कोही छैन । बुवाले भारतमा काम गरी पठाएको पैसाले घर खर्च र अन्य व्यवस्थापन गर्नुपर्ने बाध्यता छ”, उनले भने, “माध्यामिक शिक्षा परीक्षा पास हुँदा विद्यालयले निःशुल्क अध्ययन गराउने जनाउँदै मेरो भर्ना गराएको थियो ।  

    अहिले शुल्क माग्न थालेको छ । यही अवस्थामा अध्ययन कतै बिथोलिन्छ कि भन्ने चिन्ता पनि छ ।” उनी महेन्द्रनगर कभर्डहलमा भलिबल खेलका प्रशिक्षक जगदीश भट्ट र लालबहादुर बटालाबाट प्रशिक्षित हुँदै आएका छन् ।  कोरोना महामारीको सङ्क्रमणका कारण राष्ट्रिय खेलाडी टिममा जाने आफ्नो सपना अधुरो भएको बताए । 

    “कोरोनाका कारण हाम्रो प्रशिक्षण रोकियो । मेरो राष्ट्रिय खेलमा खेल्ने निधो भएको थियो”, उनले भने, “त्यो सपना कोरोनाका कारण पूरा हुन सकेन ।” उचाइ कम भएका कारण उनले लिब्रो खेल्दै आएका छन् ।
      
    भलिबलका राष्ट्रिय प्रशिक्षक जगदीश भट्टले विशाल पछिल्लो पुस्ताको उदाउँदो खेलाडी भएको बताएका छन् । “खेलाडीमा हुनुपर्ने सबै गुण विशालमा छ ।

    उनमा राष्ट्रिय मात्र नभई अन्तरराष्ट्रियस्तरसम्म पुग्ने गुण छन्”, उनले भने, “सानैमा खेलमा लागेकाले पनि त्यस्तो सम्भावना देखिएको हुनसक्छ ।

    यस्तो गुण खेलाडीमा प्रायः कमैमा हुन्छ ।” उनले जुनसुकै खेलम पनि सुदूरपश्चिमको खेलाडी उत्कृष्ट रहेको बताउँदै खेलाडीका लागि चाँहिने वातावरण सुदूरपश्चिममा कुनै निकायबाट हुन नसकेको बताए । उनले पैसा खर्च गरेर मात्र खेलाडी स्थापित हुन नसक्ने र  खेलाडीका लागि खेलमैत्री वातावरणको खाँचो रहेको बताए  ।
      
    खेलकूदले युवालाई सही बाटोमा डो-याउन सकिने जनाउँदै भलिबलका राष्ट्रिय प्रशिक्षक भट्टले सुदूरपश्चिमलाई चिनाउने एकै माध्यम खेलकूद बन्नसक्ने बताए ।

    “हामी अन्य प्रदेशभन्दा अगाडि छाँै भने त्यो खेलकुदमा छौँ । खेलकूदले प्रदेशलाई चिनाउन समय लाग्ने छैन”, उनले भने, “प्रदेशको खेलकूदमा लगानी शुन्य देखिएको छ र स्थानीय तहले पनि अन्य खेलकूद विधा जस्तै भलिबललाई प्राथमिकतामा राख्न सक्नुपर्दछ ।”

    २०७७, फाल्गुण १० सोमवार०२:३२:००
    प्रतिक्रिया
    सम्बन्धित समाचार