भारतमा मार्च १ देखि दोस्रो चरणको खोप अभियान सुरु हुने

भारतमा मार्च १ देखि दोस्रो चरणको खोप अभियान सुरु हुने

२०७७, फाल्गुण १३ बिहिवार

  • 1.1K
    SHARES

  • भारतमा मार्च १ देखि दोस्रो चरणको खोप अभियान सुरु हुने

    फागुन १३, नयाँ दिल्ली । 

    भारतमा कोरोनाभाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि सुरु हुने भएको छ । 

    सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुलाई खोप लगाइने भएको छ ।

    त्यसैगरी दिर्घरोगी छन् भने ४५ वर्ष माथीकालाई पनि कोरोनाभाइरसविरुद्धको खोप दिइने अधिकारीहरुको भनाइ छ ।

    केन्द्रीय मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरुसँगको कुराकानीका क्रममा केन्द्रीय मन्त्री प्रकाश जवादेकरले दोस्रो चरणको खोप अभियानका बारेमा बुधबार जानकारी दिएका हुन् । 

    सरकारी स्वास्थ्य संस्थामा खोप लगाउनेलाई निःशुल्क खोप लगाउने व्यवस्था गरिए पनि निजी स्वास्थ्य संस्थामा खोप लगाउनेहरुले भने आफैँले रकम तिर्नु पर्ने व्यवस्था गरिएको उनले बताए ।  

    खोप लगाउनका लागि देशभरी सरकारी क्षेत्रबाट दश हजारभन्दा बढी खोप केन्द्रहरु तोकिएको र निजी क्षेत्रबाट २० हजारभन्दा बढी खोप केन्द्रहरु खोलिएका छन् । 

    निजी क्षेत्रले लिने शुल्क पनि सरकारले तीन-चार दिनपछि तोकिदिने केन्द्रीय मन्त्री जवादेकरले जानकारी दिए ।  

    भारतमा पहिलो चरणमा एक करोड सात लाख ६७ हजारभन्दा बढीले कोरोनाभाइरसविरुद्धको खोप लगाएको तथ्याङ्क छ । 

    कोरोनाभाइरसको महामारीबाट धेरै प्रभावित मुलुकहरुको अग्रपङ्त्तिमा पर्ने भारतले गत जनवरी १६ देखि पहिलो चरणको खोप अभियान सुरु गरेको हो । 

    दोस्रो चरणमा लगाउनका लागि हामीसँग झण्डै १४ लाख खोप तयारी अवस्थामा रहेको छ, यो खोप अधिकांश वृद्धवृद्धालाई नै दिइने छ, मन्त्री जवाडेकरले भने ।  

    उनका अनुसार भारतमा पहिलो चरणमा स्वास्थ्यकर्मीसहित अग्रपङ्क्तिंमा खटिएका व्यक्तिहरुलाई खोप लगाउने व्यवस्था गरिएको थियो । 

    भारतमा प्राथमिकता क्रम निर्धारण गरेर खोप लगाउने गरिएको छ । भारत आफैँले उत्पादन गरेको खोप लगाउने अभियान चलिरहे पनि कोरोनाबाट मृत्यु हुनेक्रम रोकिएको छैन । 

    बुधबार सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा १०४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यसैगरी सोही अवधिमा १३ हजार ७४२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

    कोरोनाभाइरसबाट सङ्क्रमित भएका र मृत्यु भएकाहरुको यो सङ्ख्या अघिल्लो दिनको भन्दा धेरै हो । 

    भारतले आफूले उत्पादन गरेको खोप आफ्ना नागरिकसँगै विश्वका धेरै देशलाई पनि प्रदान गरेको छ । यसले अन्तर्राष्ट्रिय जगत्मा भारतको छवि थप राम्रो भएको छ ।- एजेन्सी ।

    २०७७, फाल्गुण १३ बिहिवार०७:२०:२९
    प्रतिक्रिया
    सम्बन्धित समाचार