मंसिर २०, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक बालुवाटारमा जारी रहेको छ ।
आजको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी छन् । बैठक सुरु हुनुअघि केहीबेर २५ दिन लामो संवादहीनता तोड्दै ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ बीच भेटवार्ता भएको थियो । के विषयमा अध्यक्षद्धय बीच छलफल भयो भन्ने कुरा खुलाइएको छैन ।
मंसिर १६ गतेको बैठकमा ओली अनुपस्थित भएका कारण सचिवालय बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।
आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेका अलग–अलग डकुमेन्टमाथि छलफल शुरुभएको छ । गएको कात्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एकल प्रस्ताव पेस गरेका थिए ।
त्यसपछि दश दिनका लागि स्थगित भएर बसेको मंसिर १३ गतेको बैठकमा ओलीले जवाफ पेस गरेका थिए । त्यसपछि गत मंगलबार बसेको बैठकमा ओली अनुपस्थित भएपछि कार्यकारी अध्यक्ष प्रचण्डले बैठक तीन दिनसम्म स्थगित गरेका थिए ।
सचिवालयका नेताहरु खास गरि ओली र प्रचण्डको झगडाले नेकपा सग्लो रहने हो की होइन सबैमा चासो र चिन्ता बढेको छ ।