फागुन २०, काठमाडौं ।
सरकार र नेपाल कम्युनिष्ट पार्टी बीच ३ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।
आज बिहान सम्पन्न वार्तामा सरकारका तर्फबाट गृहमन्त्री एवं वार्ता टोली प्रमुख राम बहादुर थापा (बादल) र नेकपा प्रवक्ता एवं वार्ताटोली प्रमुख खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड)ले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमति पत्रमा नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पुर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यम बाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपुर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारको तर्फबाट लगाइएको नेपाल कम्युनिष्ट पार्टी माथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाई र मुद्धा खारेजी लगायतका विषयहरु रहेका छन् ।
सहमतिको विस्तृत विवरण भोलि फागुन २१ गते दिनको २ बजे विशेष समारोहका वीच सार्वजनिक गरिने छ ।
समारोहलाई सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट महासचिव नेत्र विक्रम चन्द 'विप्लव'ले सम्बोधन गर्ने वार्ताटोली सदस्य राजन भट्टराईले जनाएका छन् ।

गएको फागुन १८ गते मंगलवार सरकारी वार्ता टोली बादलको संयोजकत्वमा घोषणा भए लगत्तै विप्लव समूहले पनि प्रकाण्डको नेतृत्वमा घोषणा गरेको थियो । सदस्यमा डा राजन भट्टराई र उदय चलाउनेले आ-आफ्नो तर्फबाट प्रतिनिधित्व गरेका थिए ।
दुई पक्ष बीच १९ गते बुधवार बिहान सामान्य भलाकुसारीका साथमा बैठक सकिएको थियो । त्यसै गरि बुधवारै बेलुका विषयमा केन्द्रित रहि सकारात्मक दिशा तर्फ उन्मुख रहेको बताइएको थियो ।
आशंका मिश्रित वार्ताका क्रममा सरकारी वार्ता टोली प्रमुखले विप्लव समूहलाई हतियार बुझाउन प्रस्ताव गरेका थिए । तर प्रकाण्डले आफुसँग हतियार नरहेको जानकारी गराएका थिए ।
वार्ताले थप आकार लिँदै आजको वार्तामा सहमति भएको हो । यस सँगै ७ वर्ष लामो भुमिगत आन्दोलन विप्लवले समूहले टुंग्याएको छ ।
पछिल्लो समय व्यक्ति हत्यामा विप्लव समूह लागेको भन्दै चौतर्फी आलोचना बढेको थियो । अब हिंशा त्यागेर विप्लव समूह खुला राजनीतिक पार्टीमा आउने संकेत मिले सँगै सर्वसाधारणले खुशी व्यक्त गरेका छन् ।
साथै असहज अवस्थामा पनि एतिहासिक निर्णय लिन सफल भएकोमा ओली सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् ।