कविता : बस्ती र रातहरू

कविता : बस्ती र रातहरू

२०७७, मंसिर २० शनिवार

  • 3.3K
    SHARES

  • कविता : बस्ती र रातहरू

    मंसिर २०, काठमाडौं ।

     घरिघरि घरर्र.... घरर्र.....

    ढोका उघारेर

    मेरो बस्तीमा

    साँझ घोप्टिएपछि

    मुठीका मुठी चुक अमिलो जस्तै

    काला,

    निस्पट्ट र भयानक रातहरू

    निर्लज्ज पोखिएर जान्छन् ।

     

    पटक पटक पोखिएकै हुन्

    समय,

    परिवेश र

    पात्र फरक होलान्

    आखिर " रातहरू " रातहरू नै हुन्

    कहिले दलानमा पोखिन्छन्

    कहिले मझेरीमा

    कहिले झ्वाप्पै पार्छन्- कोमल स्निग्ध बस्ती

    ती कठोर - निर्दयी रातहरू ।

     

    ए !

    कोही त बताइदेऊ

    के रातहरू सधैँ भोका हुन्छन् ?

    भैँसे जुकाजस्तै जो निरन्तर चुसिरहन्छन्।

    जुका,किर्नाले जस्तै रातहरूले

    निरन्तर बस्तीहरू चुसिरहने भए

    पूर्वमा लाली चढाउँदै गरेको सूर्यको के अर्थ ?

    गगनमा होइन

    भूगोलमा चम्किएको ताराको के अर्थ ?

     

    अब त मेरो बस्तीमा

    भाले र पोथी दुवै बास्न थालिसके त

    चराचुरुङ्गीका आवाजहरू

    चिर्बिर - चिर्बिर गर्न थालिसके त

    उज्यालोको सङ्केत पाउँदै मात्र

    मनमाया,रुक्साना,पेम्वा,दिलतोरिया

    बञ्जर बारि बिराउन

    आतुर भइसके त

    थेबा,इब्राहिम,पाल्तेन,दिलबहादुर

    सोमप्रसाद कोदालो खोज्दै छन् ।

     

    मेरो बस्तीमा

    अब त एक अँगालो घाम पोखिनु पर्दैन ?

    रातहरूले एकछत्र

    साम्राज्य फैलाइरहँदा

    मेरो सुदूर बस्तीमा

    अब पनि एकमुठी जून पोखिनु पर्दैन ?

    - सुमन घिमिरे अग्रिम - सर्लाही

    २०७७, मंसिर २० शनिवार०६:३९:१४
    प्रतिक्रिया
    सम्बन्धित समाचार