पशुपति र वसन्तपुर क्षेत्रमा चिरोत्थान, फागु पर्व शुरु

पशुपति र वसन्तपुर क्षेत्रमा चिरोत्थान, फागु पर्व शुरु

२०७७, चैत्र ८ आइतवार

  • 1.7K
    SHARES

  • पशुपति र वसन्तपुर क्षेत्रमा चिरोत्थान, फागु पर्व शुरु

    काठमाडौँ । फागुपूर्णिमा अर्थात् होली पर्व शुरु गर्नुअघि पशुपति र वसन्तपुर क्षेत्रका सात स्थानमा लिङ्गो गाड्ने काम (चिरोत्थान) गरिएको छ ।
     
    गुह्येश्वरी जङ्गलमा फाल्गुन शुक्ल अष्टमीका दिन बिहान मयलको हाँगो काटी गुह्येश्वरी, गोरखनाथ र पशुपतिमा चढाएर ती स्थानमा पनि लिङ्गो गाडिने परम्परा रहेको युवा हिन्दू महासङ्घ वसन्तपुरका अध्यक्ष राजन महर्जनले जानकारी दिए ।

    मयलको हाँगो काटेर ल्याई नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतअनुसार बिहान ८ः२६ बजे चिरोत्थान गरिएको हो । 
     
    वसन्तपुरका पनि चार स्थानमा चिरोत्थान गरिएको छ । हनुमानढोका दरबार क्षेत्रका सुन्दरीचोक, दाखचोक, हनुमान मन्दिरअघि र गद्दी बैठकअघि गरी चार स्थानमा लिङ्गो गाडिएको छ ।

    पशुपति र वसन्तपुर दरबार क्षेत्रका सात स्थानमा लिङ्गो गाड्ने चलन प्राचीनकालदेखि रही आएको छ । आज बिहान चिरोत्थान गरिएसँगै फागु पर्व शुरु भएको मानिन्छ । फाल्गुन शुक्ल पूर्णिमाका दिन फागुपूर्णिमा पर्व मनाइन्छ । 
     
    फाल्गुन शुक्ल अष्टमीका दिन गाडिएको लिङ्गो फाल्गुन शुक्ल पूर्णिमाका दिन बेलुकी ८ः३६ बजे ढाल्न शुभ हुने साइत समितिले दिएको छ ।

    लिङ्गो ढालेर त्यसै बेलुकी ८ः५६ मा दहन गर्नुपर्ने समितिले जनाएको छ । चिरोत्थानका लागि मयलको हाँगो काट्ने, ल्याउने र गाड्ने काममा वसन्तपुर क्षेत्रका मानन्धर समाजका सदस्य सक्रिय हुने परम्परा रही आएको छ ।

    २०७७, चैत्र ८ आइतवार०२:४४:४८
    प्रतिक्रिया
    सम्बन्धित समाचार