काठमाडौँ । नेकपा (एमाले)ले माधवकुमार नेपालसहित चार नेताले स्पष्टीकरण दिने भएका छन् । नेता युवराज ज्ञवालीका अनुसार नेताहरुले जवाफीपत्र तयार गरिसकेको बताएका छन् ।
नेताहरुले जवाफ पठाए लगत्तै प्रधानमन्त्री ओलीको पनि स्पष्टीकरण मागिने जनाएका छन् । सोमवार नेता भिम रावल र घनश्याम भुसालले पत्र नबुझेका भएता पनि नेताहरु मानसिकरुपमा तयार रहेको ज्ञवालीले बताए ।
वरिष्ठ नेता माधव कुमार नेपालको पत्र स्वकिय सचिव नितेश पौडेल, सुरेन्द्र पाण्डेको पत्र उनका स्वकिय सचिव सञ्जिव पाण्डेले बुझेका थिए भने भिम रावल र घनश्याम भुसालले पत्र बुझेका थिएनन् । महासचिव ईश्वर पोखरेलद्धारा जारि गरिएको पत्रमा पार्टी विपरीतका गतिविधि गरेको जनाइएको छ ।
यही चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकले पार्टी विपरीतका गतिविधि गरेको जनाउँदै ती नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । पत्रमा चारै जनालाई तीन दिनभित्र लिखित जवाफ पठाउन भनिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई सर्वोच्च अदालतले गत फागुन २३ गते मान्यता नदिई एमाले र नेकपा (माओवादी केन्द्र) लाई पहिलेकै अवस्थामा ब्युँताएपछि एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का नेता नेपालबीच तिक्तता पैदा भएको छ ।
नेता नेपाललगायत नेता प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध उभिएका थिए ।
एमाले ब्युँतिएपछि फागुन २८ गते बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा माओवादी केन्द्रका नेता रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणिचन्द्र थापालगायत २३ जनालाई केन्द्रीय सदस्यमा आफ्नो सहभागिताविना मनोनयन गरिएको भनी नेपाल समूह असन्तुष्ट हुँदै आइरहेको छ ।
चैत्र १ गते दुवै समूहका बीच छलफल भए पनि कुनै ठोस समझदारी बन्न सकेन । नेपाल समूह २०७५ जेठ २ गतेको अवस्थाबाट एमाले अघि बढ्नु पर्ने अडानमा छ । सो समूहले आफ्ना गतिविधि नरोकी चैत्र ४ र ५ गते राष्ट्रीय कार्यकर्ता भेला नै सम्पन्न गरिसकेको छ ।
जनवर्गीय संगठनमा समानान्तर गतिविधि सञ्चालन गर्दै कमिटि निर्माण समेतलाई तिब्रता दिएको छ । ओली पक्षले भने कमिटिहरुलाई आयोजक कमिटिमा रुपान्तरण गरेकाले बखेडा झिक्नुको अर्थ नभएको बताउँदै आएको छ ।
कसैलाई कारवाही गरिएको अवस्था हैन मात्र जिम्मेवारी खोसेर महाधिवेशन उन्मुख भएर अगाडि बढ्न चेतावनी दिइएको हो ओली पक्षका नेताको भनाई थियो ।