अस्ट्राजेनिका खोप गम्भीर विरामी हुनबाट रोक्न शतप्रतिशत प्रभावकारी: अमेरिकी अध्ययन

अस्ट्राजेनिका खोप गम्भीर विरामी हुनबाट रोक्न शतप्रतिशत प्रभावकारी: अमेरिकी अध्ययन

२०७७, चैत्र १० मंगलवार

  • 1.1K
    SHARES

  • अस्ट्राजेनिका खोप गम्भीर विरामी हुनबाट रोक्न शतप्रतिशत प्रभावकारी: अमेरिकी अध्ययन

    वासिङ्टन । कोरोनाभाइरस विरुद्ध प्रयोग हुदै आएको अस्ट्राजेनिका खोप गम्भीर बिरामी हुनबाट रोक्न शतप्रतिशत प्रभावकारी पाइएको छ ।

    कोलम्बिया विश्वविद्यालय र रोचेस्टर विश्वविद्यालयले गरेको नयाँ परीक्षणले खोप प्रभावकारी र सुरक्षित रहेको फेरि प्रमाणित गरेको हो । 

    अमेरिका, चिली र पेरुका ३२ हजारभन्दा बढी स्वयंसेवकमा खोप परीक्षण गरिएको अध्ययनकर्ताहरुले जनाएका छन् । 

    परीक्षणबाट खोप लक्षणयुक्त कोरोनाभाइरसको सङ्क्रमण रोक्न ७९ प्रतिशत प्रभावकारी रहेको पनि पुष्टि भएको छ । 

    त्यसैगरी यो खोपले रगत जम्ने जोखिम पनि नदेखिएको परीक्षणको नतिजाले देखाएको अधिकारीहरुले बताएका छन् ।

    अक्सफोर्ड विश्वविद्यालयका खोप परीक्षणका प्रमुख अध्ययनकर्ता प्राध्यापक एन्ड्रु पोल्र्डले नयाँ अध्ययनको नतिजाले खोपको प्रभावकारिता पुनः प्रमाणित गरेको दावी गरे । 

    युरोपेली मुलुक लगायत कतिपय मुलुकहरुले खोपको प्रभावकारीता र उपयोगिताप्रति शङ्का गर्दै खोप लगाउन रोकिरहेका बेला यो नतिजा सार्वजनिक भएको हो । 

    यो नतिजा सार्वजनिक भएसँगै खोप लगाउन छाडेका मुलुकहरुले खोप लगाउने अभियानलाई फेरि निरन्तरता दिने अपेक्षा गरिएको छ ।

    तर कतिपय देशहरुले भने युरोपेली औषधि नियामक निकायले खोप सुरक्षित र प्रभावकारी नै रहेको बताएपछि फेरि लगाउन थालेका छन् । 

    विश्वका धेरै देशमा लाखौँ व्यक्तिले यो खोप लगाइसकेका छन् । कतिपय देशहरुले अहिले पनि यो खोप लगाउने कार्यलाई निरन्तरता दिइनै रहेका छन् । 

    कतिपय देशहरुले यो खोप लगाउन रोकेको र कतिपयले यो खोप्रति शङ्का उब्जाइरहेका बेला यो नतिजा सार्वजनिक भएपछि त्रसित भएकाहरु फेरि ढुक्क हुने भएका छन् । एजेन्सी

    २०७७, चैत्र १० मंगलवार०६:५६:२८
    प्रतिक्रिया
    सम्बन्धित समाचार