धारामा आइपुग्यो मेलम्चीको पानी

धारामा आइपुग्यो मेलम्चीको पानी

२०७७, चैत्र १६ सोमवार

  • 1.9K
    SHARES

  • धारामा आइपुग्यो मेलम्चीको पानी

    काठमाडौँ । लामो प्रतिक्षापछि आजदेखि मेलम्चीको पानी काठमाडौँ उपत्यकाका विभिन्न स्थानका ग्राहकको धारामा आउन थालेको छ ।

    देवकोटा सडक, बत्तीसपुतली, जयबागेश्वरी, चावहिल, कुटुबहाल, सिफल, कालोपुल, एअरपोर्ट हाइट, धनवन्तरी मार्गलगायत क्षेत्रका धारामा पानी आएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ ।

    हाल पुराना पानी पोखरीहरूमा मेलम्चीको पानी भरी पुरानै पाइपलाइन र धारामा दिइने र आयोजना कार्यान्वयन निर्देशनालयबाट बिच्छाइएको नयाँ पाइपलाइनमा परीक्षण गर्दै लैजाने लिमिटेडको योजना छ । 

    अहिले दैनिक चार करोड लिटर पानी आउन थालेको लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए । पहिलो चरणमा महाङ्कालचौर, अनामनगर, मीनभवन र खुमलटारमा रहेका ट्याङ्कीमा पानी भरेर ग्राहकका घरमा पठाउन लागिएको छ ।

    उनले भने, “विस्तारै सबै क्षेत्रमा पानी पठाइनेछ ।” महाङ्कालचौर पोखरी खोलेर जम्मा भएको पानी घरघरमा पठाउन थालिएको प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए । सो पोखरीबाट चावहिल, कुटुबहाल, आनन्द नगर क्षेत्रमा पानी पुग्ने उनले जानकारी दिए ।

    पानी बढाउँदै लगेर दैनिक १७ करोड लिटरसम्म काठमाडौँ ल्याउन लागिएको छ । सकेसम्म दैनिक रुपमा विवरण गर्ने लिमिटेडको योजना छ । उनले भने, “सकेसम्म दैनिक नभए दिन बिराएर पानी ग्राहकले पानी पाउनेछन् ।”

    अहिले खानेपानीको शुल्क यथावत नै राख्ने लिमिटेडको योजना छ । पहिले पानी दिने लक्ष्य भएको र ग्राहक खुशी बनाएर मात्रै महसुल बढाउन सोच्ने उनले बताए ।

    तोकिएका स्थानमा कुनै घरमा पानी नपुगेमा तत्काल समस्या पत्ता लगाएर समाधानका लागि टोली बनाइएको छ । उनले भने, “सम्बन्धित शाखामा सम्पर्क गरेपछि समाधान हुनेछ ।”

    निर्माण शुरु भएको लामो समयसम्म पनि सम्पन्न हुन नसकेको आयोजनाको निर्माण सकिएसँगै परीक्षण गरिएको हो । यस अघि मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माण भएका सुरुङ र पानी प्रशोधन केन्द्रको परीक्षण गरिएको थियो ।

    राष्ट्रिय गौरवको सो आयोजनाले काठमाडौँ उपत्यकामा लामो समयदेखि रहेको खानेपानीको अभाव हट्ने अपेक्षा गरिएको छ । आयोजनामा यसअघि विभिन्न कम्पनीले काम गरेका थिए ।

    पछिल्लो पटक चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरुङको बाँकी काम सम्पन्न गरेको हो । सोही कम्पनीले ‘हेडवर्क’ निर्माण गरिरहेको छ । 

    २०७७, चैत्र १६ सोमवार०७:१२:१८
    प्रतिक्रिया
    सम्बन्धित समाचार