मंसिर १३, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफी प्रस्ताव पेस गरेका छन् । प्रधानमन्त्री ओलीले पेस गरेको जवाफी पत्र सचिवालय सदस्यहरुलाई अध्ययनका लागि प्रदान गरिएको छ ।
यस अघि पार्टीका अध्यक्ष प्रचण्डले गत कार्तिक २८ गते १९ पृष्ठ लामो एकल राजनीतिक प्रतिवेदन पेश गरेका थिए । सोही प्रतिवेदनका आधारमा अध्यक्ष ओलीले आज जवाफी प्रतिवेदन पेश गरेका हुन् । ओलीको प्रस्ताव माथि अध्ययन गरेपछि मंसिर १६ गते दिउँसो एक बजे बस्ने बैठकमा छलफल हुने भएको छ । ओलीको प्रस्ताव खाममा राखेर सचिवालय सदस्यहरुलाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
दुवै प्रस्तावको अध्ययन गरेर अर्को बैठक बस्नेगरी सचिवालय बैठक सकिएको प्रवक्ता श्रेष्ठले बताए । बैठकमा नेताहरुले आफ्ना धारण राख्ने क्रममा पार्टी विभाजन तर्फ जान नहुनेमा नेताहरुले जोड दिनुभएको छ’, श्रेष्ठले भने ।
मंसिर ३ गते बसेको सचिवालय बैठकले मंसिर १८ मा स्थायी कमिटी र मंसिर २५ मा केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।