दिक्तेल बहुमुखी क्याम्पसको प्रशासनिक भवन सञ्चालन

दिक्तेल बहुमुखी क्याम्पसको प्रशासनिक भवन सञ्चालन

२०७७, चैत्र २१ शनिवार

  • 1.9K
    SHARES

  • दिक्तेल बहुमुखी क्याम्पसको प्रशासनिक भवन सञ्चालन

    खोटाङ । दिक्तेल बहुमुखी क्याम्पस खोटाङले आफ्नै प्रशासनिक भवनबाट कार्यालय सञ्चालन शुरु गरेको छ ।

    क्याम्पस परिसरमा निर्माण गरिएको दुई तले पक्की भवन आज औपचारिक रुपमा उद्घाटन गरिएसँगै सोही भवनबाट क्याम्पसको दैनिक कामकाज सञ्चालनमा ल्याइएको हो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रु एक करोड २३ लाखको लागतमा निर्माण गरिएको भवन नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

    भवन उद्घाटन अघि निर्माण कम्पनी मोहन एण्ड बेँसीगाउँ निर्माण सेवा–रुजन जेभीका प्रतिनिधि जोसेफ रिजालले नगरप्रमुख रिजाल र उपप्रमुख राईलाई भवन हस्तान्तरण गरेका थिए । 

    प्रशासनिक भवनको पहिलो तलामा सभाहल र शौचालय तथा माथिल्लो तलामा प्रशासनिक कक्ष सञ्चालनमा ल्याइएको छ । 

    वर्ष दिनमा भवन निर्माण सम्पन्न गर्नेगरी २०७६ जेठ १४ गते सम्झौता गरिए पनि कोभिडका कारण केही पर धकेलिएको निर्माण कम्पनीका प्रतिनिधि रिजालले बताए । नयाँ भवन निर्माण भएपछि क्याम्पसको प्रशासनिक कामकाज तथा कार्यसम्पादनमा सहज भएको क्याम्पस प्रमुख हीराकुमार राईले बताए । 

    विसं २०७६ जेठ ८ गते शिलान्यास गरिएको क्याम्पसको प्रशासनिक भवन तोकिएको मितिभन्दा करीब दश महिनापछि मात्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिएको हो ।

    छिमेकी जिल्ला ओखलढुङ्गा, सोलुखुम्बु र भोजपुरका विद्यार्थीसमेत अध्ययन गर्न आउने दिक्तेल क्याम्पसमा अधिकांश पुरानै भवनमा पठनपाठन भइरहेको छ ।

    क्याम्पसका पूर्व विद्यार्थीसमेत रहनुभएका नगरप्रमुख रिजाल निर्वाचित भएलगत्तै क्याम्पसले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा भवन निर्माणका लागि क्याम्पसलाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।  

    जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालित क्याम्पसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा २०७० सालदेखि स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्दै आएको छ । विसं २०३७ मा स्थापना गरिएको दिक्तेल बहुमुखी क्याम्पस जिल्लाकै पूरानो र आङ्गिक क्याम्पस हो ।

    २०७७, चैत्र २१ शनिवार०६:४९:५८
    प्रतिक्रिया
    सम्बन्धित समाचार