काठमाडौं । नेकपा एमाले स्थाई कमिटि सदस्य तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले कर्णाली प्रदेशको फ्लोर क्रसलाई सामान्य ढंगले लिननहुने बताएका छन् ।
"एमाले भित्ररहेका एमाले बिरोधीहरुले सार्वजनिक उद्घोष स्वरुप माओवादी केन्द्रमा बिलय हुन आतुर हुँदै फ्लोर क्रस गरेका हुन्", रिमालले भनेका छन् ।
शुक्रवार कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहिले विश्वासको मत माग्दा दलीय ह्वीपलाई उल्लंघन गर्दै एमालेका ४ सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर थापाले शाहिका पक्षमा मतदान गरेका थिए ।
"एमाले समाप्त पार्न 'एकता-बिधि-पद्धति'को नाममा क्रियाशील तत्व, के कस्तो षड्यन्त्रमा संलग्न छ भन्ने बुझ्न र त्यसबाट भ्रममुक्त हुन यो घटना पर्याप्त छैन र ?", रिमालले थप प्रश्न गरेका छन् ।
कर्णाली प्रदेशका ३९ सांसद मध्ये ३७ सांसद मतदानमा सहभागी भएका थिए । माओवादी केन्द्रका १२ र कांग्रेसका ६ सांसदले मात्र मतदान गर्दा शाहिका पक्षमा बहुमत पुग्दैनथ्यो ।
ज्वाला सहितका ४ एमाले सांसदले फ्लोर क्रस गर्दै शाहिलाई मतदान गरेपछि उनको सत्तायात्रा सुनिश्चित भएको हो । शाहिका पक्षमा २२ मत पर्दा विपक्षमा १५ मत परेको थियो ।
मतदानका समयमा १ प्रदेश सभा सदस्य भएको राप्रपा भने तटस्थ बसेको थियो ।