वास्तविकताका आधारित बजेट ल्याउन पूर्वअर्थमन्त्रीको सुझाव

वास्तविकताका आधारित बजेट ल्याउन पूर्वअर्थमन्त्रीको सुझाव

२०७८, बैशाख ८ बुधवार

  • 1.5K
    SHARES

  • वास्तविकताका आधारित बजेट ल्याउन पूर्वअर्थमन्त्रीको सुझाव

    काठमाडौँ । पूर्वअर्थमन्त्रीले वास्तविकताका आधारित भएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने विषयलाई लिएर आज आयोजना गरेको छलफलमा उनीहरुले खर्च गर्न सक्ने र यथार्थतालाई सम्बोधन गर्ने खालको बजेट ल्याउन आग्रह गरे । 

    यस्तै ठूला आयोजनामा बजेटको उचित प्रबन्ध गर्न तथा खर्च कटौतीलाई विशेष ध्यान दिन र कोरोनाका कारण प्रभावित उद्योग व्यवसायलाई राहत दिने गरी बजेटको विनियोजन गर्नुपर्नेमा पूर्वअर्थमन्त्रीहरुको जोड थियो ।

    आकारका आधारमा ठूलो बजेटभन्दा पनि विशेषगरी धरातलीय यर्थाथतालाई सम्बोधन गर्न तथा लोकप्रियताको नाममा कार्यान्वयन नहुने खालका कार्यक्रम नराख्नसमेत उनीहरुले अर्थमन्त्रीको ध्यानाकर्षण गराए । 

    राज्यकोषमा थप दायित्व थपिने खालका कार्यक्रम नल्याउन आग्रह गर्दै उनीहरुले कोरोना प्रभावित मुलुकको अर्थतन्त्रको खास अर्थमा सम्बोधन गर्ने कार्यक्रम समावेश गर्न अनुरोध गरे ।

    समयमा नै बजेट आए पनि पूँजीगत खर्च हुन नसकेको अवस्थालाई मध्यनजर गरेर त्यसमा विशेष ध्यान दिन तथा आर्थिक पुनःरुत्थानका खास प्याकेज ल्याउन पूर्वअर्थमन्त्रीहरुले आग्रह गरेका थिए ।

    छलफलमा पूर्वअर्थमन्त्रीहरु डा प्रकाशचन्द्र लोहनी, डा रामशरण महत, वर्षमान पुन र शङ्कर कोइरालाको सहभागिता थियो । 

    छलफलमा अर्थमन्त्री पौडेलले आगामी आवको बजेटमा सरकारले समावेश गर्नुपर्ने विषयमा सुझाव दिन आग्रह गरेका थिए । सो अवसरमा अर्थ मन्त्रालयका सचिव शिशिर ढुङ्गाना र अन्य वरिष्ठ अधिकारीको उपस्थिति थियो । 

    २०७८, बैशाख ८ बुधवार०६:२३:१९
    प्रतिक्रिया
    सम्बन्धित समाचार