काठमाडौं । नेकपा (एमाले) केन्द्रीय महाधिवेशन आयोजक कमिटिको आकस्मिक बैठक बालुवाटारमा बस्दै छ ।
एमाले बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले फ्लोर क्रस गरेर भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्धको अबिश्वासको प्रस्ताव पारित गर्ने ग्राण्ड डिजाइन रच्दै गरेको सुचना बाहिरिए सँगै अध्यक्ष ओलीले आकस्मिक बैठक बोलाएका हुन् ।
हाल सिनियर नेताहरु आन्तरिक छलफलमा जुट्नु भएकाले बैठक केहिबेर पर सरेको केन्द्रीय सदस्य देवराज घिमिरेले बताए ।
नेपाल खनालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष कर्णाली प्रदेशमा जस्तै 'फ्लोर क्रस' गरेर अविश्वास प्रस्ताव पारित गर्न प्रतिवद्धता जनाएको सूचना बालुवाटार पुगेको छ ।
सोही सूचना पाएपछि नेकपा (एमाले) ले माधव नेपाल पक्षका केही सांसदलाई निष्काशनको तयारी गरेको छ । माधव नेपाल, भीम रावलसहित निलम्वित चार र अन्य नेतामाथि समेत थप कारवाही हुन लागेको एमाले स्रोतले जनाएको छ ।
एमालेको विधानले दललाई तत्कालै कुनै ठूलो हानी हुने अवस्था आएमा सांसदलाई ६ महिनासम्म निलम्बन गर्न सक्ने अधिकार दिएको छ ।