शुक्लाफाँटामा सञ्चालित विद्यालय १० दिनका लागि बन्द

शुक्लाफाँटामा सञ्चालित विद्यालय १० दिनका लागि बन्द

२०७७, मंसिर २५ बिहिवार

  • 1.3K
    SHARES

  • शुक्लाफाँटामा सञ्चालित विद्यालय १० दिनका लागि बन्द

    मंसिर २५, कञ्चनपुर । 

    कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि शुक्लाफाँटा नगरपालिकामा सञ्चालित विद्यालयको पठनपाठन १० दिनका लागि बन्द गरिएको छ ।

    नगरपालिकाको कार्यपालिकाको बैठकले मङ्सिर २५ गतेदेखि पुस ५ गतेसम्मका लागि सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

    लामो समयदेखि बन्द भएको विद्यालय मङ्सिर २१ गतेदेखि सञ्चालन गरिएका थियो ।

    वडा नं ५ र ६ मा गरी आठ जनामा कोरोना भाइरसको सङ्क्रमण हुनुका साथै एकको मृत्यु भएपछि नगरपालिकाले विद्यालयमा समेत सङ्क्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गरी विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
     
    “कोरोना भाइरस समुदायस्तरमै देखिएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको छ”, नगरपालिकाको शिक्षा शाखाका प्रमुख टिकेन्द्रप्रसाद भट्टले भने ।

    “नगरपालिकाको निर्णयलाई बेवास्ता गरी प्रत्यक्ष विधिबाट कक्षा सञ्चालन गरे त्यसबाट हुने जोखिमको सम्पूर्ण जिम्मेवारी प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले लिनुपर्ने छ ।”

    नगरपालिकाको निर्णयलाई बेवास्ता गर्दै नगर क्षेत्रका केही संस्थागत विद्यालय भने आजसमेत सञ्चालनमा रहेका छन् ।

    यसअघि लामो समयदेखि अवरुद्ध पठनपाठन मङ्सिर २१ गतेदेखि पुनः सञ्चालन गर्ने नगर कार्यपालिकाले निर्णय गरेको थियो ।

    विद्यार्थी सङ्ख्या, भौतिक पूर्वाधार र कोभिडको प्रभावलाई ध्यानमा राखी सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन भएका थिए ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट यसअघि जारी गरिएको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ को व्यवस्थाबमोजिम नगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गरेको थियो । 

    शुक्लाफाँटामा हालसम्म १२४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये नौजना मात्रै सक्रिय सङ्क्रमित रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले जानकारी दिए ।

    सङ्क्रमितमध्ये दुई जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । बुधबार मात्रै कोरोना सङ्क्रमितको सम्पर्कमा रहेका ५२ जनाको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरीसेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएको छ । 

    २०७७, मंसिर २५ बिहिवार०८:४८:३०
    प्रतिक्रिया
    सम्बन्धित समाचार