काठमाडौँ । कोरोनाभाइरस महामारीका कारण नराम्ररी भारतमा अहिले अक्सिजन अभावका कारण कैयौँ बिरामीहरूले ज्यान गुमाइरहेका छन्। नेपालमा पनि अहिले जटिल अवस्थाका बिरामीहरूको सङ्ख्या बढ्दै गएको र अस्पताल भर्ना भएका धेरैलाई अक्सिजन दिनुपरेका विवरणहरू आइरहेका छन्।
घरमै शरीरमा अक्सिजनको तह जाँच गर्न सकिने उपकरण अक्सिमिटरको बजारमा माग व्यापक रूपमा बढेको व्यवसायीहरूले बताएका छन्।
अहिले नेपालमा सञ्चालनमा रहेका अक्सिजन उद्योगहरू पूर्ण क्षमतामा चले आपूर्तिमा समस्या नहुने तर सिलिन्डरको अभाव ठूलै समस्याका रूपमा देखा परेको व्यवसायीहरूको भनाइ छ।
भारतमा अक्सिजनको अभाव भइरहँदा नेपालमा अवस्था कस्तो छ ?
कोभिडका सिकिस्त बिरामी बढ्दा मेडिकल अक्सिजन कसरी उपलब्ध होला
उनीहरूले विदेशबाट नयाँ सिलिन्डर ल्याउने व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेका छन्।
पूर्वतयारी भएको हुन्थ्यो भने सरकार सरकारबीच सहमति गरेर द्रूत गतिमा फास्ट ट्र्याकबाट ल्याउने कुरामा सहजीकरण गरिदिनुपर्थ्यो। घर्किसक्यो समय। सिलिन्डर राज्यले एअरलिफ्ट गरेर ल्याउने हो भने कोभिडको विकराल समस्या पर्दा बिरामी बचाउन अवसर हुन्छ, एक जना अक्सिजन उद्योग सञ्चालकले भने।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता समिर अधिकारीले विदेशबाट नयाँ सिलिन्डर खरिद गरेर सहज रूपमा ल्याउन कठिन हुने बताउँदै त्यसका लागि कूटनीतिक पहल भइरहेको जानकारी दिए।
खरिद गरेर मात्रै पाउने अवस्था देखिन्न अहिले अक्सिजन सिलिन्डरका हकमा। कुनै विशेष किसिमको कूटनीतिक प्रयास गर्नुपर्ने देखिएर त्यसका लागि कामहरू अघि बढेका छन्, डा.अधिकारीले भने।-बीबीसी