प्रधानमन्त्रीको असंवेदनशिलताका कारण स्थिति भयावह - सभापति देउवा 

प्रधानमन्त्रीको असंवेदनशिलताका कारण स्थिति भयावह - सभापति देउवा 

२०७८, बैशाख १७ शुक्रवार

  • 921
    SHARES

  • प्रधानमन्त्रीको असंवेदनशिलताका कारण स्थिति भयावह - सभापति देउवा 

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको अकर्मण्यता र असंवेदनशिलताका कारण गम्भिर परिस्थिति सिर्जना भएको बताएका छन् । 

    महामारी बढ्दै जाँदा सरकारको अकर्मण्यताका कारण कोरोना संक्रमितहरुले उपचार नपाउने अवस्था आएको छ, शुक्रवार आफ्नै निवास बुढानीलकण्ठमा देउवाले पत्रकार सम्मेलन मार्फत भनेका छन् । 

    'संक्रमितको उपचार गर्न देशको स्वास्थ्य संस्थाले धान्नै नसक्ने स्थिति बनेको र आईसीयू, भेन्टिलेटर, अक्सिजनको अभाव हुन थालेको छ', देउवाले भने ।  

    ‘यस्तो परिस्थिति आउनुमा सरकारको चरम लापरवाही, असंवेदशीलता र अकर्मण्यता जिम्मेवार छ’ उनले भनेका छन्, ‘सररकार न विगतको गल्तीहरुबाट सिक्छ, न नेपाली कांग्रेस तथा अन्य सरोकारवालाले दिएको सल्लाह र सुझावलाई आत्मसात गर्छ ।’

    अनावश्यक तडकभडक र भिडभाड बढाएर कोरोना भित्रयाएको ओली सरकारले लकडाउन गर्ने निर्णय गरेपछि पनि परीक्षण नगरी जनतालाई उपत्यका छाड्न दिँदा लाखौं मानिस जिल्ला जिल्ला पुगेको र यसले संक्रमण व्यापक बन्नसक्ने उनले बताएका छन् ।

    कांग्रेस सभापति देउवाले संक्रमितहरुको उपचारका लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटरको आपूर्ति सुनिश्चित गर्न तथा अस्पतालका बेडलगायतका पूर्वाधार व्यवस्था गर्न माग गरेका छन् ।

    कट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित संक्रमितको पीसीआर परीक्षण व्यापक बनाउन तथा सीमा नाकामा अनिर्वाय पीसीआर गर्न र रिपोर्ट नआउँदासम्म होल्डिङ सेन्टरमा राख्ने व्यवस्था मिलाउन पनि उनले माग गरेका छन् ।

    कांग्रेसले स्वास्थ्य मापदण्ड पालनाका लागि देशभर सचेतना अभियान एवं उपचारको पहुँचमा पुग्न समस्या भएका संक्रमितलाई सहयोग गर्ने तथा लकडाउनका कारण आर्थिक सामाजिक समस्या परेकाहरुलाई सहयोग अभियान चलाउने प्रतिवद्धता समेत गरे ।

    २०७८, बैशाख १७ शुक्रवार०४:२५:३२
    प्रतिक्रिया
    सम्बन्धित समाचार