सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकासहित जिल्लाभरका लक्षित समुदायका व्यक्तिले १० महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् ।
सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समुदायअन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित समुदायका व्यक्तिले आर्थिक वर्ष २०७६/७७ को पहिलो किस्तावापतको रकम हालसम्म पनि स्थानीय सरकारबाट नपाउँदा कठिनाइ भोग्नुपरेको गुनासो गरेका छन् ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित र एकल महिलाले आफूलाई समयमै रकम नदिँदा दशैँ, तिहार र हिउँदको समयमा यतिकै बिताउनुपरेको सिमकोट गाउँपालिका–२ का मैना बोहराले गुनासो गरिन् ।
इच्छा लागेका सामान किन्न पाइएन, चाडपर्वको समयमा मिठो मसिनो किनमेल गरे खान पाइएन र औषधोपचार गर्न नपाएर स्वस्थ्य जीवन बिताउन नपाएको उनीहरूले गुनासो गर्न थालेका छन् ।
समाजका ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने भए पनि सरकारबाट पाउने सुविधासमेत समयमा नदिएर अपमान गरेको एकल महिला गौगोरा बोहराले गुनासो गरिन् । भत्ता आउला भन्ने आशामा बसेका ज्येष्ठ नागरिक हुम्लामा हिउँदमा हुने चिसो र चाडपर्व सकिँदासमेत भत्ता नपाएपछि निराश भएका छन् ।
यता सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाका अनुसार पुरानो संरचनाअनुसार घरघरमै गएर नगद रकम दिँदा तलमाथि हुने देखिएपछि नयाँ संरचनाअनुसार बैंक खाता सञ्चालन गरेर वितरण गरिने भएकाले केही ढिलाइ भएको हो । खाता सञ्चालनमा आइनसकेका कारणले समस्या भएको छ । अबको केही दिनमै वितरण गरिने तयारी भइरहेको उनले बताए ।