रामेछाप । नेपाली कांग्रेस रामेछाप पुर्व क्षेत्रीय सभापति लिलानाथ अधिकारी "जेष्ठ राजनीतिज्ञ सभा" को केन्द्रीय सदस्यमा मनोनयन भएका छन् ।
उनलाई नेपाली कांग्रेस रामेछाप जिल्ला पार्टी सभापति लव श्री न्यौपानेको सिफारिसमा केन्द्रिय सभापति शेर बहादुर देउवाले मनोनयन गरेका हुन् ।
वि.सं.१९९० वैशाख १३ मा स्व. बाबु नारायण प्रसाद अधिकारी र आमा चेत कुमारी अधिकारीका जेष्ठ सुपुत्र रामेछाप जिल्ला साबिक सालु गा.बि स, हाल मंथली न.पा ४ निबासी लिलानाथले जिवनको पुरै समय नेपाली कांग्रेसमा समर्पित गरेका थिए ।
वि.सं.२०१५ सालको आम निर्वाचनमा क्षेत्र नं १४ का उम्मेदवार सुर्य प्रसाद उपाध्यायको एजेन्ट बसेर सक्रिय राजनीतिक जिवनको शुरुवात गरेका उनले वि.सं. २०२४ सालमा कांग्रस पार्टीको समर्थनमा जिल्ला पंचायत सदस्य भएका थिए ।
त्यसै गरि वि.सं २०३४ सालमा गाउँफर्क अभियानको सदस्य हुँदै २०३६ सालको जनमत संग्रहमा बहुदलका पक्षमा उनको योगदान थियो ।
त्यस्तै २०४६/४७ सालको जनआन्दोलनमा प्रजातन्त्रका लागि लडेका अधिकारी जिल्लामा स्वाभिमानी, इमानदार र निडर स्वभावका नेताका रुपमा परिचित थिए । वि.सं.२०५२/५३ सालमा रामेछाप जिल्ला क्षेत्र नं.१ का क्षेत्रीय सभापति रहेका अधिकारी पछिल्लो समयमा विभिन्न सामाजिक संघ-संस्थामा संलग्न थिए ।
गाउँमा शिक्षालयको अभाव महशुस गरि वि.सं २०१७ सालमै हालको सेतीदेवी माध्यमिक विद्यालय स्थापना गरि संस्थापक प्रधानाध्यापकको रुपमा समेत उनले कार्य गरेका थिए । हाल उच्च रक्तचापका बिरामी रहेका ८९ वर्षीय अधिकारी माहिला छोरा बसन्त अधिकारी सँग काठमाडौंमा रहेर उपचाररत छन् ।
जिवनभर पार्टीको झोला बोकेका अधिकारीलाई ढिलै भएपनि पार्टीले संझेर सम्मान स्वरुप मनोनयन गरेकोमा खुशी व्यक्त गर्नुका साथै सभापति देउवालाई धन्यवाद व्यक्त गरेका छन् ।
हर्षित देखिएका तर प्रष्ट बुझ्न नसकिने बोलिमा बोलेका उनले कोरोना महामारी पश्चात पार्टी सभापति देउवासँग एकपटक भेटघाट गर्न उनकै निवास पुग्ने इच्छा रहेको समेत सुनाए ।
