कुलेखानीमा नयाँ आयोजनाको अध्ययन

कुलेखानीमा नयाँ आयोजनाको अध्ययन

२०७८, बैशाख २६ आइतवार

  • 1.4K
    SHARES

  • कुलेखानीमा नयाँ आयोजनाको अध्ययन

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बनाउन खोजेको कुलेखानी सिस्नेरी पम्प स्टोरेज आयोजनाको भौगोलिक अध्ययन सम्पन्न भएको छ । कुलेखानी जलाशयकै पानी प्रयोग गरेर विद्युत् निकाल्ने र त्यो पानी पुनः जलाशयमै फिर्ता पठाउने गरी विद्युत् आयोजना बनाउन गत चैतमा विद्युत् विकास विभागले अनुमति दिएको थियो ।

    अहिले प्राधिकरण मातहतको एनईए इन्जिनियरिङले पूर्वसम्भाव्यता अध्ययन गरिरहेको छ । अध्ययनमा संलग्न प्राधिकरणका इन्जिनियर शिवराम केसीका अनुसार हालसम्म भौगोलिक अध्ययन पूरा भएको छ भने भौगर्भिक, वातावरणीयलगायतका अध्ययनको काम भइरहेको छ । असार मसान्तभित्र पूर्वसम्भाव्यता अध्ययन सक्ने लक्ष्य प्राधिकरणको छ । यो समाचार आजको गोरखापत्र दैनिकले लेखेको छ । 

    प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यो आयोजना सस्तो भएकाले तत्काल निर्माण गर्नुपर्ने बताए । उनले भने, “आगामी असारसम्म अध्ययनको काम सक्ने र अर्को वर्षको असारभित्र निर्माण सुरु गर्नुपर्छ भन्नेमा हामी छौँ ।” उनका अनुसार आयोजना सम्पन्न गर्न करिब नौ अर्ब रुपियाँ लाग्ने प्रारम्भिक अनुमान छ ।

    प्रारम्भिक अध्ययनबाट यो आयोजनाबाट सय मेगावाट विद्युत् उत्पादन हुनसक्ने देखिएको छ । यो आयोजनाबाट सुक्खायाममा १०२ र वर्षायाममा ११८ गिगावाट गरी वार्षिक २२० गिगावाट-घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । विद्युत्को माग उच्च हुने समयमा सञ्चालन गर्ने गरी यो आयोजना बनाउन लागिएको हो ।

    प्रारम्भिक सर्वेक्षणअनुसार कुलेखानी इन्द्रसरोवरको पानी ४.२ मिटर व्यासको ७२५ मिटर लामो टनेल पाइपमार्पmत सिस्नेरीमा बन्ने विद्युत् गृहमा पठाइने र त्यहाँबाट विद्युत् निकालेपछि पानी पुनः अर्को पोखरीमा जम्मा गरिने छ । यसरी जम्मा भएको पानी रातिको समय तथा विद्युत् उत्पादन गर्नु नपर्ने समयमा इन्द्रसरोवरमै फर्काइने छ ।

    विद्युत् उत्पादन गर्न प्रयोग गरिने टर्वाइन र पाइपबाटै पानी फिर्ता गरिने एनईए इन्जिनियरिङका प्रमुख मनोज सिलवालले जानकारी दिए । “बिजुली निकाल्न प्रयोग हुने टर्वाइनले नै पछि पानी कुलेखानीको जलाशयमै फिर्ता गर्न मोटरको काम गर्नेछ,” उनले भने । यसो गर्दा करिब ८० प्रतिशत पानी कुलेखानीको बाँधमै फिर्ता हुनेछ ।

    २०७८, बैशाख २६ आइतवार०७:३१:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार