काठमाडौं । पूर्वरानी कोमल शाहको स्वास्थ्यावस्थामा सुधार देखिएको छ। नर्भिक अस्पतालमा उपचाररत उनको स्वास्थ्यावस्थामा सुधार आएपछि केही दिनदेखि सघन उपचार कक्षबाट शय्या सारेर उपचार भइरहेको छ ।
अस्पतालका कर्पोरेट कम्युनिकेसन प्रमुख सोमनाथ बाँस्तोलाले पूर्व रानीको स्वास्थ्यमा सुधार आएपछि अक्सिजनको मात्रासमेत घटाउँदै लगिएको जानकारी दिए । उनकाअनुसार पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र पूर्वअधिराजकुमारी प्रेरणा शाह कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
पूर्वरानीको प्लाज्माथेरापी विधिबाट उपचार थालिएको थियो । यस्तै सङ्क्रमणमुक्त भएपछि पूर्वराजा शाहलाई अक्सिजन दिन छाडिएको अस्पतालले जनाएको छ । अब राजपरिवार कोरोनाबाट खतरामुक्त भएको जनाइएको छ ।