काठमाडौं । कोरोना महामारीका कारण जनताको जीवन जोगाउन देशका ६८ जिल्लामा अवस्था हेरेर पूर्ण या आंशिक लकडाउन गरिएको छ । अत्यधिक घना बसोबास भएको काठमाडौं उपत्यकामा वैशाख २९ गते आज लकडाउनको दोस्रो हप्ता पनि गुज्रिँदैछ ।
यद्यपि कोरोना फैलने क्रम तिब्र रहेका कारण लकडाउनको समयावधि जेठ १३ सम्म पुर्याईएको छ । दैनिक संक्रमित र मृतकको संख्याको ग्राफ हेर्ने हो भने उच्चतम विन्दु एकपछि अर्को बढ्दो क्रममा रहेको छ । सामाजिक संजाल हेर्दा श्रद्धाञ्जली बाहेक अन्य कुरा पाउनै गार्हो बन्दै गएको छ ।
तर तीन तहका सरकार मध्ये राजनीतिक दाउपेचका कारण घाइते जस्तै देखिएको केन्द्र सरकारले नीतिगतरुपमा निर्णय गरेर सान्त्वना दिने प्रयास गरे पनि पर्याप्त देखिएको छैन । बरु कोभिड विरुद्धका स्वास्थ्य सामाग्री र खोप ल्याउँदा समेत बिचौलिया हावी भएर कमिसनका कारण ल्याउन ढिलाई भएका समाचार आईरहेका छन् । अघिल्लो चरणमा लकडाउन हुँदा आइसोलेसन सेन्टर तयार गर्न स्थानिय तहको होडबाजी हेर्दा साँच्चिकै सिंह गाउँगाउँमा गर्जिरहेका आभास हुन्थ्यो । रोग त के संसारको कुनै पनि खतराजन्य बस्तु आए पनि स्थानिय तहले मुकाबिला गर्नेछन् ।
महामारीको दोस्रोलहर चलिरहँदा भने स्थिति फरक देखिएको छ । आफ्नो पालिका भित्र स्थानिय जनप्रतिनिधि पनि छन् र ? भन्ने प्रश्न उठेका छन् । दोस्रो लहरमै गुमनाम जस्तै देखिएका जनप्रतिनिधि तेस्रो, चौथो, पाँचौं लहर चले, महामारी धान्लान् ? थप प्रश्न उठेका छन् । राजनिति गर्दा जिवन बलिदान दिन तयार छौं भन्ने राजनीतिकर्मीहरु साँच्चो अवस्थामा जनताका सेवाका लागि वलिदान दिन तयार छन् ? जनताले जनप्रतिनिधिको वलिदान मागेका छैनन्, मागेका छन् त असहज अवस्थामा जीवन बचाउन सक्ने ढाडस र सहजीकरण ।
जनप्रतिनिधिलाई सुविधा सम्पन्न अस्पताल तयार छन् उपचारका लागि तर जनताले सिटामोल नपाउने हो की भन्ने भय देखिन थालेको छ । केहिदिन अघि भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरवार्ता भाइरल नै भयो । उनले भनेका थिए, "नअताल्लिनोस्,अस्पताल नदौडनोस् । कोरोना पोजिटिभ भए तपाईँको घरमा टेलिफोन आउनेछ मद्धतका लागि या घरमै स्वास्थ्य सामाग्री सहितको स्वास्थ्य टोली । तपाईलाई अक्सिमिटर र औषधी प्रदान गरिने छ । थप असहज भयो भने तुरुन्त अस्पताल ल्याएर इलाज गरिने छ ।" नभन्दै जनता अतालिएर अस्पताल कुदेनन् फलस्वरुप संक्रमणदरको ग्राफ ओरालो लाग्दै छ ।
नेपालको राजधानी उपत्यकामा दुईवटा ठूला नगरपालिका काठमाडौं महानगरपालिका र ललितपुर उप-महानगरपालिकामा मात्र २५ लाख भन्दा बढि मानिसको बसोबास तथ्यांकले बताउँछ । यती धेरै जनसंख्यालाई स्वास्थ्यअवस्था मजबुत पार्न कस्सिनु पर्ने नगरका मेयरहरु सामान्य अक्सिजन प्लान्ट मात्र उद्घाटन गर्दै दौडिएको पाइएको छ । काठमाडौं महानगरका मेयर विद्या सुन्दर शाक्यका गतिविधिहरु एकल रुपमा दौडिएको फुटबल खेलाडी जस्तो देखिएकोछ । एक्लै बल लिएर गयो पोष्ट अगाडी पुगे पछि किपर देखेर अतालिएर बल बाहिर हुइँक्यायो । जसबाट नतिजा हात पर्ने कुरै भएन ।
नीति बनाएर संयन्त्र परिचालन गर्नुपर्ने प्रमुखले एक्लै दौडनुको सट्टा नगरका स्वास्थ्य इकाई, जनप्रतिनिधिलाई सशक्त परिचालन गर्दै वडा-वडामा अनुगमनमा निस्किए केहि हुन्थ्योकी स्थानियको गुनासो छ । तुलनात्मकरुपमा ललितपुर उपमहानगरमा संक्रमण दर कम देखिएको छ । यद्यपि यसलाई स्वास्थ्य सचेतना सहित नियन्त्रणमा राख्न दौडनु पर्ने उपमहानगरपालिका प्रमुख चिरीबाबु महर्जनका गतिविधि पनि महामारी धान्ने अवस्थामा देखिएका छैनन् ।
अघिल्लोपटकको महामारीमा राज्यले कोरोना नियन्त्रणका लागि ठूलो रकम स्थानिय तहलाई निकासा गरेको थियो । कम्तिमा ७ लाख देखि लिएर १५ लाख सम्म एउटै वडामा रकम निकासा गरिएका हिसाबहरु नगरले उपलव्ध गराएका विवरणमा देखिन्छन् । के जनप्रतिनिधि भनेका राज्यले दिएको बजेट खर्च गर्नका लागि मात्र तयार भएका संरचना हुन् या असहज अवस्थाका जनताका सेवक पनि ? वग्रेल्ति प्रश्न गर्ने ठाउँ छन् ।
यसका बाबजुद कालोबादलमा कतैकतै चाँदिको घेरा पनि छ भन्ने भनाईलाई चरितार्थ गर्दै सिन्धुली जिल्लाकी सुनकोसी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा विरामीको स्वाब संकलन गर्न घरघरमै पुग्न थालेका समाचार आईरहेका छन् । पालिकामा कोरोना भाइरस बढेको भन्दै ज्वरो रुघाखोकी लागेका विरामीको घरमा स्वाब संकलन गर्नका लागि किट बोकेर उनी स्वास्थ्यकर्मीहरु सहित विरामीको घरघरमै पुग्न थालेकी छन् ।
उनका अनुसार गाउँपालिकाभित्र कोरोना फैलदै गएपछि गाँउघरमै स्वाब संकलन गर्नका लागि स्वास्थ्यकर्मी सहितको टोली घरमै लगिएको हो । कोरोना संक्रमणकै कारण सुनकोसी गाउँपालिकाका २ स्थानियको राजधानी काठमाण्डौमा मृत्यु भएपछि गाउँपालिकामा कोरोना परिक्षणको दर बढाइएको गाउँपालिकाले जनाएको छ । सुनकोसी गाउँपालिकाको वडा नम्बर ६ स्थित गहुँखर्क र सुनकोसी गाउँपालिका वडा नम्बर ७ को मझुवाका स्थानियलाई घरमै पुगेर कोरोना परिक्षण गरिएको गाउँपालिका अध्यक्ष दाहालले बताइन् ।
एक गाँउमा ८-१० जना विरामी भएपछि हामी स्वाब संकलन गर्न विरामीका घरमै पुग्छौ, उनको भनाई थियो । दोस्रो चरणको कोरोना भाइरसको संक्रमण बढेसँगै सुनकोसी गाउँपालिकामा १ सय ९० जनाको स्वाब लिइ पिसिआर टेष्ट गरिएको र जसमध्ये ५० जनामा कोरोना पोजिटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश झाले बताए । हामीले कोरोनाको परिक्षण दर पनि बढाएका छौ, उनले भने, गाँउघरमै पुगेर स्वाब संकलन गरि परिक्षण गर्न पठाउने गरेका छौ ।