काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी १०२ वर्षमा प्रवेश गरेका छन् ।
बुवा शङ्करराज र आमा राजकुमारीका सुपुत्रका रुपमा विसं १९७७ आजकै दिन ललितपुरको बखुम्बहालमा जन्मिएका जोशी करोडौं नेपालीका प्रेरणाका स्रोत हुन् । जोशीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षणमा विशेष योगदान दिँदै आएका छन् ।
उनले हालसम्म तीन पटक मदन पुरस्कार, विभूषण, पदकलगायत पुरस्कार पाइसकेका छन् । जोशीको सम्मानमा सरकारले केही समय पहिले उनको मुहाराङ्कित रु १० को हुलाक टिकट प्रकाशन गरेको छ ।
यसपटक कोभिड महामारीलाई ध्यानमा राखी साधारण तरिकाले उनको जन्मदिन मनाईएको छ । आजका दिनसम्म उनमा कुनै पनि रोग नदेखिएको परिवार स्रोतले बतायो ।