जेठ २ मा फर्कियो एमाले

जेठ २ मा फर्कियो एमाले

२०७८, जेठ १ शनिवार

  • 1.7K
    SHARES

  • जेठ २ मा फर्कियो एमाले

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेठ २ (माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअघिको अवस्था) मा फर्किन सहमत भएका छन् ।

    बिहीबार बुढानिलकण्ठमा बसेको ४ घण्टा लामो वार्ता सकारात्मक भएपछि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ–आफ्नो पक्ष नेताहरुसहित शुक्रबार फेरि वार्तामा बसेका थिए । शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा अध्यक्ष ओली, नेपाल समूहको मागअनुसार जेठ २ मा फर्किन सहमत भएको बताइएको छ । 

    जेठ २ मा फर्किएर समस्याको समाधान खोज्ने र त्यसका लागि कार्यदल बनाउने सहमतिमा उल्लेख छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले नेता भीम रावलले दुई नेता बसेर कार्यदलका सदस्यहरु टुंगो लगाउने जानकारी दिए ।

    छलफलका क्रममा टिपोट गरिए पनि हस्ताक्षर नभएको बताईएको छ । नेताहरुका अनुसार अब बन्ने कार्यदलले माओवादी केन्द्रबाट आएका नेताहरुदेखि २ जेठमा फर्किँदा कायम हुने एमालेको संरचना र त्यसको नेतृत्वबारे निर्णय गर्नेछ ।

    नेपाल समूहले एमाले ब्युँताउने सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार २ जेठ २०७५ अगाडिकै एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम हुनुपर्ने अडान लिंदै आएको थियो ।

    तर ५ पुसमा संसद विघटन गरेपछि साविकको नेकपामा आफूलाई साथ दिएका माओवादी तर्फका नेताहरुलाई छुट्टै संरचना बनाएका ओली त्यसलाई भत्काउन चाहेका थिएनन् । ओलीले  सार्वजनिक रुपमै भन्ने गरेका थिए, माधव समूहले डढेलो लगाएर छोडिदिएको बनमा बचेका पिपिरा समातेर अगाडी बढाएको छु । नेपाल समूहका नेताहरुलाई कारबाही गरेका ओलीले गएको १० वैशाखमा मात्रै माओवादी छोडेका नेताहरुलाई समेट्दै नेपाल समूहविहीन स्थायी कमिटी गठन गरेका थिए ।

    बिहीबार मात्र चार नेताको निलम्बन फिर्ता लिएका एमाले अध्यक्ष ओली २ जेठमा फर्किँदा ५ पुसयता आफूले बनाएका सबै कमिटी विघटन गर्न तयार हुनुपर्छ । माधव नेपाल समूहले पनि ४–५ चैतमा राष्ट्रिय कार्यकर्ता भेला गरेर जनसंगठनदेखि भूगोलमा समेत समानान्तर संगठन बनाएका छन् । २ जेठमा फर्किंदा यो पनि खारेज हुन्छ ।

    नेताहरूका अनुसार यसबारे विस्तृतमा कार्यदलले गृहकार्य गर्नेछ । यदि तलका कमिटीहरू ब्युँताउन अध्यक्ष ओली तयार भए माथिल्ला कमिटीमा माओवादी केन्द्रबाट आएका नेताहरुलाई समेटेर अगाडि जान सकिने नेपाल समूहका नेताहरुले बताएका छन् ।

    सिंहदरवारको बैठकमा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका रामबहादुर थापा बादल पनि सहभागि थिए । विहिवारको बैठकले कार्यदल बनाउँदा ७ सदस्यीय बनाए पनि अब बादल र विष्णु रिमाल समेत गरेर ९ सदस्यीय हुने जनाईएको छ । 

    २०७८, जेठ १ शनिवार०८:४५:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार