कविता : फर्किएनन् केही आफन्तहरू

कविता : फर्किएनन् केही आफन्तहरू

२०७८, जेठ २ आइतवार

  • 2.0K
    SHARES

  • कविता : फर्किएनन् केही आफन्तहरू

    काठमाडौं । 
                                           
    निकै अबेरसम्म
    पर्खिरह्यो उसले केही आफन्तहरू

    जो गएका थिए राता मान्छेहरूका साथ लागेर 
    जो गएका थिए सरकारी मान्छेहरूका साथ लागेर

    तर आजसम्म फर्किएनन्
    सायद
    भेट्दै भेटेनछन् कि उनीहरूले
    जिन्दगीको सुनौलो भूगोल ।

    पर्खिनेका आँखा टट्याइसके:
    आँखाका पानी सुकिसके:
    आफैँले टेकेको आँगन पनि बिरानो जस्तै भइसक्यो:
    तर पनि फर्किएनन् -
    उसले पर्खिएका केही आफन्तहरू ।

    उनीहरूले घर छोड्दा जन्मिएका सन्तान
    छामिरहेका छन् - 
    रेगिस्तानका ताता बालुवाहरू
    भित्र्याउन थालिसके -
    रेमिट्यान्सका पोकाहरू
    दोबाटोमा उम्रिएको पिपल पनि छहारी दिने भइसक्यो:
    माली गाईको बाच्छो दुई मेलो जोत्ने भइसक्यो:
    तर आजसम्म पनि फर्केका छैनन् 
    उसका केही आफन्तहरू 
    जो टिप्न गएका थिए - सुन्दर परिवर्तनहरू।

    'परिवर्तन'परिवर्तन भएदेखि नै
    खोँच परेका गालामा बग्ने आफन्तका यादहरू,
    राम्ररी निदाउन नसकेका निद्राहरू,
    छटपटाइरहेको छाती
    र
    भोगिरहेको जीर्ण शरीरले पनि अब बाटो खोजिरहेछ - महा प्रस्थानको यात्राको।

    यो पनि पढ्नुहोस् - कविता : बस्ती र रातहरू

    २०७८, जेठ २ आइतवार०५:०३:४९

    सुमन घिमिरे, अग्रिम

    प्रतिक्रिया
    सम्बन्धित समाचार