सङ्क्रमितलाई घरमै आयुर्वेदिक औषधि

सङ्क्रमितलाई घरमै आयुर्वेदिक औषधि

२०७८, जेठ ३ सोमवार

  • 1.9K
    SHARES

  • सङ्क्रमितलाई घरमै आयुर्वेदिक औषधि

    नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्र होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितका लागि घरमै पुगेर औषधि वितरण शुरु गरिएको छ । नगरपालिकाको वडा नं २ र ४ बाट सङ्क्रमितलाई स्वास्थ्य परामर्श र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण शुरु गरिएको हो ।

    आयुर्वेद औषधालय र आधारभूत स्वास्थ्य एकाइले होम आइसोलेशनमा रहेका बिरामीलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श र औषधि वितरण शुरु गरेको औषधालयका प्रमुख वरिष्ठ कविराज निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए । 

    आइतबार ३४ सङ्क्रमितलाई अश्वगन्धा चूर्ण, आमलकी, जेठीमधु, गुड्चीलगायतका आयुर्वेदिक औषधि वितरण गरिएको पौडेलले बताए । आयुर्वेदिक औषधि वितरणको कार्यक्रम नगरपालिकाका अन्य वडामा समेत सञ्चालन हुने पौडेलले बताए । 

    आयुर्वेद औषधालयका प्रमुख पौडेल, आधारभूत स्वास्थ्य एकाइ गैँडाकोटका प्रमुख सिनियर अहेव अधिकृत टुकराम सुवेदी र औषधालयका कर्मचारी गोपालप्रसाद सापकोटासहितको टोलीले होम आइसोलेशनमा रहेकाहरुको हौसला बढाउने आयुर्वेदिक औषधि वितरण गरेको हो ।

    टोलीले सङ्क्रमितहरुलाई घरमै भेटेर स्वास्थ्यमा जटिल अवस्था आए तुरुन्तै सम्पर्क गर्न आग्रह गरिएको पौडेलले बताए । सङ्क्रमितलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण गर्दा उनीहरुमा रोगलाई जित्ने आत्मबल बढ्ने पौडेलको भनाइ थियो ।

    यसअघि पनि सङ्क्रमितहरुको घरमै गएर उनीहरुको नियमित स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको उनको भनाइ छ ।

    गैँडाकोट–२ मा ८१ र ४ मा ७२ गरी दुई वटा वडामा मात्रै १५३ कोरोना सङ्क्रमित रहेका छन् । पछिल्लो चौबिस घण्टामा गैँडाकोटका २२ जनाले कोरोना जितेका छन् ।

    २०७८, जेठ ३ सोमवार११:१८:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार