लन्डन । सनसनिपूर्ण खेलमा गोलकिपर एलिसन बेकरले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि लिभरपुलले प्रिमियर लिगमा वेष्टब्रोममाथि २-१ को पुनरागमन जित हात पारेको छ ।
यस जितले लिभरपुललाई ठुलै राहत समेत दिएको छ । अंक तालिकामा पाँचौ स्थानमा रहेको लिभरपुलले चौथो स्थानको चेल्सीसँग अंक दूरी १ मा झारेको छ ।
३६ खेलबाट लिभरपुलको ६३ अंक छ । समान खेलबाट चेल्सीको ६४ अंक छ । अर्को चरणा तेस्रो स्थानको लेस्टर र चेल्सी खेल्ने भएकाले पनि लिभरपुलको शिर्ष ४ मा पर्ने चाहनामा फाइदा पुगेको हो ।
घरेलु मैदान हल रोब्सन कानुले १५औं मिनेटमा गोल गर्दै वेष्टब्रोमलाई अग्रता दिलाएका थिए । तर ३३औं मिनेटमा मोहम्मद सालाहले लिभरपुलका लागि बराबरी गोल फर्काए ।
निर्धारित ९० मिनेटसम्म खेल बराबरीमै थियो । तर थप गरिएको इन्जुरी टाइमको पाँचौ मिनेटमा गोलकिपर एलिसन अघि बढेर ट्रेन्ट अलेक्जान्डर बर्नोल्डको कर्नरमा हेडर गोल गर्दै लिभरपुललाई जित दिलाए ।
चालु लिगमा लिभरपुलका लागि गोल गर्ने उनी पहिलो गोलकिपर हुन् ।