परीक्षा नहुँदै दोस्रो वर्षको अध्यापन !

परीक्षा नहुँदै दोस्रो वर्षको अध्यापन !

२०७८, जेठ ४ मंगलवार

  • 1.2K
    SHARES

  • परीक्षा नहुँदै दोस्रो वर्षको अध्यापन !

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीमा अध्ययनरत विद्यार्थीको कक्षासमेत अनलाइन माध्यमबाट सञ्चालन गर्न सुरु गरेको छ । निर्धारित समयमा परीक्षा लिन नसके पनि विद्यार्थीको समय सदुपयोग गर्ने उद्देश्यले वार्षिक रूपमा अध्ययन गर्ने विद्यार्थीलाई अनलाइन माध्यमबाट जोडिएको हो तर अनलाइनमा सीमित मात्र जोडिएका छन् ।

    विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्नातक तहको वार्षिक परीक्षा सञ्चालन गर्न नसकिए पनि अनलाइन कक्षा सुरु भएको जानकारी दिए । विश्वविद्यालयमा हाल स्नातक तह प्रथम वर्षका दुईवटा समूह हुँदा असजिलो महसुस भएको छ ।

    पुरानो पहिलो वर्षको परीक्षा कोरोना भाइरसका कारण अन्तिम समयमा आएर स्थगित गरिएको छ । पहिलो समूहको परीक्षा हुनै लाग्दा परीक्षा रोकिएकामा विद्यार्थीमा मानसिक चिन्ता थपिएको नेपाल फिल्म क्याम्पसका प्रमुख शिशिर उप्रेतीले बताए । अब अर्को वर्षको पढाई शुरु गर्नुको विकल्पै रहेन उनी थप्छन् ।

    स्नातक तहका नयाँ विद्यार्थीले भने फागुन अन्तिम साताबाट भर्ना भएर पठनपाठन सुरु गरेका छन् । 

    विश्वविद्यालयले यसअघि सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको मात्र अनलाइन माध्यमबाट कक्षा सञ्चालन गरे पनि अब सबै विद्यार्थीलाई समेटिएको जनाइएको छ । पुरानो पहिलो वर्षमा अध्ययन गर्ने विद्यार्थीलाई दोस्रो वर्षको कक्षा सञ्चालन गरिएको जनाइएको छ । पहिलो वर्षको परीक्षा दिन नपाए पनि समयको सदुयपोग होस् भन्ने हिसाबले दोस्रो वर्षको पठनपाठनमा जोडिएको जानकारी नियन्त्रक जोशीले दिए । 

    पुराना स्नातक तह प्रथम वर्षका विद्यार्थी भर्ना भएको १९ महिना भइसकेको छ । यस हिसाबले उनीहरूको समय खेर जाने अवस्था रहेको जनाइएको छ । दोस्रो वर्षमा अध्ययनरत ती विद्यार्थी उपयुक्त समय आएलगत्तै पहिलो वर्षको परीक्षामा सहभागी हुनेछन् । नयाँ भर्ना भएका विद्यार्थीको पनि अनलाइन कक्षा सुरु गरिएको जनाइएको छ ।

    महिना दिनको समय दिएर परीक्षा
    विश्वविद्यालयले हाल स्थगित भएका विद्यार्थीको परीक्षा सङ्क्रमण सामान्य भएपछि एक महिनाको समय दिएर गरिने जनाएको छ । सङ्क्रमणले कति समय असर गर्छ भन्ने कुरा यकिन गर्न नसकिने भएकाले अवस्था सामान्य भएलगत्तैै परीक्षा लिने र त्यसको तयारी भइरहेको जनाइएको छ । सामाजिक दूरी कायम गरेर परीक्षा लिने विश्वविद्यालयको योजना छ ।

    २०७८, जेठ ४ मंगलवार०७:४५:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार