नागढुंगा सुरुङमार्गमा आधा कामदारले साइट छाडे

नागढुंगा सुरुङमार्गमा आधा कामदारले साइट छाडे

२०७८, जेठ ५ बुधवार

  • 1.1K
    SHARES

  • नागढुंगा सुरुङमार्गमा आधा कामदारले साइट छाडे

    काठमाडौं । निर्माणाधीन नागढुंगा सुरुङमार्गमा कार्यरत केही कामदारमा कोभिड–१९ देखिएसँगै कार्यरत आधा कामदार साइट छाडेर घर फर्किएका छन् । सुरुङमार्गमा कार्यरत ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजरसहित ३३ जना कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    कोभिड–१९ को दोस्रो लहर देखा नपर्दासम्म आयोजनामा ६ सय ५० भन्दा धेरै कामदार कार्यरत थिए । घरका सदस्य र आफन्तमा कोभिड–१९ को संक्रमण देखिएको भन्दै करिब तीन सय कामदारले साइट छाडेर गएका हुन् ।

    नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक नरेशमान शाक्यले कोभिड–१९ को दोस्रो लहरले सुरुङमार्ग आयोजनामा आशिंक प्रभाव देखिन थालेको बताए । ‘आयोजनामा कार्यरत ३३ जनामा कोरोना संक्रमण देखिएसँगै कामदारहरू त्रसित भएर साइट छाड्ने बढिरहेका छन्,’ उनले भने, ‘कामदारका घरका सदस्य र आफन्त संक्रमित भएर पनि साइट छाड्ने बढेका हुन् ।’ यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् । 

    आयोजना प्रमुख शाक्यले कार्यरतमध्ये ५० प्रतिशत कामदार कोभिड–१९ को मनोवैज्ञानिक त्रासको कारण साइट छाडेर घर गएको बताए । ‘अहिले संक्रमित ३२ जनाको साइटकै आइसोलेसनमा र एकजनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ,’ उनले भने । 

    आयोजनाले साइटमा नै अक्सिजनसहितको मेडिकल सुविधा उपलब्ध गराउँदै आएको छ । आयोजना प्रमुख शाक्यले केही कामदारले साइट छाडेर गए पनि अहिलेसम्म सुरुङमार्ग निर्माणको काम भने प्रभावित भइनसकेको दाबी गरे । 

    ‘अहिले पनि सुरुङ निर्माणको काम जारी छ,’ उनले भने, ‘कोभिड महामारीको समय भएकाले कति बेला के हुन्छ भनेर पूर्वानुमान गर्न सकिँदैन । अहिले हामीले कामदारको सुरक्षालाई मुख्य प्रथामिकतामा राखेर काम गराइरहेका छौंं ।’

    आयोजना प्रमुख शाक्यले कामदारको सुरक्षामा उच्चतम सतर्कता अपनाउँदा अपनाउँदै पनि कोरोना संक्रमण देखिएको बताए । ‘निर्माण कम्पनीले क्याम्पभित्र कोभिड महामारी फैलिएको कारण मुख्य सुरुङको काम मात्रै नियमित गर्ने भनेको छ,’ उनले भने, ‘सुरुङ बाहेकका अन्य काम केही समयको लागि स्थगित गर्ने निर्णय गरेको छ ।’

    २०७८, जेठ ५ बुधवार०७:५९:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार