काठमाडौं । नयाँ परिस्थिति अनुसार सरकार गठन भएको हप्तादिन नपुग्दै सरकार गठनका लागि आव्हान भएको छ ।
संविधानको धारा ७६ (३) अनुसार वैशाख ३० गते राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको ७ दिन नपुग्दै फेरि बैकल्पिक सरकार गठनका लागि आव्हान गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिएर सरकार चलाउने सुविधा रहँदारहँदै पनि पुनः अर्को धारा आकर्षित गरेर सरकार गठन गर्न भनिएको हो ।
राष्ट्रपतिले आव्हानमै वर्तमान सरकारले विश्वासको मत पाउने निश्चित नभए पछि धारा ७६ (५) आकर्षित गर्नु परेको बताउनु भएको छ ।
वर्तमान सरकारले राजिनामा नदिईकन एक दिन भन्दा कम समय मात्र २१ घण्टा समय दिएर सरकार बनाउ भन्नु भनेको संसद विघटनका लागि राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा भएको संवैधानिक 'कु' भन्नेहरुको मत पनि नभएको होइन । यस तर्कलाई विपक्षी राजनीतिक पार्टी, संविधानविद र केही वकिलहरुले व्याख्या गर्दै आएका छन् ।
यता राजनीतिक पार्टीहरु भने विज्ञप्ति मार्फत संविधान र लोकतन्त्रमा हमला भयो पनि भन्दैछन् भने सरकार गठनका लागि तिब्र दौडधुपमा पनि देखिएका छन् ।
सरकारसँग नजिकको मित्र शक्तिका रुपमा रहेको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदहरुको बैठक सिंहदरबारमा सुरु भएको छ ।
जसपा नेता बिमल श्रीवास्तवका अनुसार बैठकले समसामयिक राजनीतिबारे छलफल गर्ने छ । जसपाकै उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षका नेताहरुलाई भने बैठकबारे कुनै जानकारी छैन ।
जसपाको संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भए पछि संसदीय दलको बैठक पहिलो पटक बसेको हो । स्रोतका अनुसार नेता राजेन्द्र महतो केपी शर्मा ओलीको नेतृत्वमा सरकारमा जान तयारी अवस्थामा छन् ।
यता सोहि समयमा एमाले नेता माधव कुमार नेपाल प्रधानमन्त्री ओली विरोधी छलफलमा सहभागी भएका छन् । कांग्रेससँग आन्तरिक सहकार्य गर्दै आएका नेपाल कांग्रेस सभापति शेरबहादुर देउवाको निमन्त्रणामा बुढानिलकन्ठ पुगेका छन् । यस अघि नै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बुढानिलकन्ठ पुगिसकेका छन् ।
लौरो उभ्याएर भए पनि जसरी हुन्छ ओली सरकारलाई विस्थापन गर्नु पर्छ जसपा नेता डा बाबुराम भट्टराईको समेतको एक मत देखिएको छ ।
राजनीतिका चतुर खेलाडी मानिएका ओलीले आफ्नै नेतृत्वमा सरकार बनाउँछन् या हिजो भएको राष्ट्रिय सभा निर्वाचनमा जस्तो हेरेको हेर्यै हुन्छन् यो थाहापाउन भने आज शुक्रवार साँझ ५ बजे सम्म कुर्नु पर्ने देखिन्छ ।