काठमाडौं । एट्लेटिको मड्रिडले स्पानिस ला लिगाको उपाधि जितेको छ । जित्नै पर्ने दवावका बीच खेलिएको लिगको अन्तिम खेलमा रियल भाल्लाडोलिडमाथि शनिवार २-१ को पुनरागमन जितसहित एट्लेटिको ७ वर्षपछि च्याम्पियन बनेको हो ।
एट्लेटिकोलाई उपाधि जिताउन यसै सिजन बार्सिलोनाबाट आएका लुइस सुआरेजले निर्णायक गोल गरे । सुआरेजले ६७औं मिनेटमा गोल गर्दै एटलेटिकोलाई २-१ को जित दिलाए ।
खेलको १८औं मिनेटमैं ओस्कार प्लानोले गोल गर्दै घरेलु टोली भाल्लाडोलिडलाई अग्रता दिलाएपछि मड्रिड झनै दवावमा परेको थियो ।
तर ५७औं मिनेटमा एन्जल कोरेअले एट्लेटिकोका लागि बराबरी गोल फर्काएपछि मड्रिड खेलमा हाबी हुँदै गयो र लिग जित्न भोक देखाएको एट्लेटिकोले विपक्षीलाई कुनै मौका नदिईकन उपाधी जितेको हो ।
अर्को खेलमा दोस्रो स्थानको रियल मड्रिडले भियारियल विरुद्ध २-१ कै पुनरागमन जित हात पारेपनि उपाधि रक्षा गर्न सकेन । एट्लेटिकोले बराबरीमा रोकिएको भए र रियल विजयी भएको अवस्थामा रियल हेड टु हेडमा विजेता बन्ने थियो ।
एट्लेटिकोले ३८ खेलबाट ८६ अंक जोड्दा रियलले ८४ अंक जोड्यो । एट्लेटिकोले ११औं पटक ला लिगा उपाधि जितेको हो । रियलले भने २००९-१० पछि यस सिजन कुनै पनि ट्रफी जित्न सकेन ।
यसअघि नै उपाधि होडबाट बाहिरिएको बार्सिलोनाले अन्तिम खेलमा आइबरलाई १-० ले पराजित गर्दै तेस्रो स्थानमा चित्त बुझाउँदै लिग सकाएको छ ।