काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले पाँच वर्षभित्र कृषिका हरेक वस्तुमा आत्मनिर्भर हुनेगरी बजेट निर्धारण भएको बताएकी छन् ।
दूध तरकारीमा दुई वर्षभित्र, गहुँ, मकै, कोदो र फापरमा तीन वर्षभित्र र चामलमा पाँच वर्षभित्र आत्मनिर्भर हुने वार्षिक पात्रो नै बजेटमा उल्लेख भएर आएको बताउँदै उनले कृषिका हरेक कार्यक्रम अब त्यहीअनुसार अगाडि बढ्ने बताइन् ।
आइतबार कृषि पत्रकारहरूले आयोजना गरेको कार्यक्रममा उनले पाँच वर्षभित्र आत्मनिर्भर हुनका लागि मन्त्रालयले योजना बनाएर अगाडि बढ्ने बताइन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
कृषिमा कतिपय पुराना कार्यक्रम दोहोरिएका छन् । नयाँ कार्यक्रममा कृषि मिसन, पशु मिसन, युवा लक्षित विभिन्न छन् । तथापि किसानको सूचीकरणका कुरा प्रस्ट रूपमा नआए पनि त्यसलाई पनि आगामी आर्थिक वर्षमा कार्यक्रममा राखिने उनले बताइन् ।
खाद्य अधिकार अधिकार सुनिश्चित गर्दै उत्पादकत्व वृद्धि गर्दै ७१ वटा जोनका कार्यक्रम पनि बजेटमा राखिएको उनले बताइन् । उनले सरकारका तर्फबाट अनुदानका नाममा किसानलाई जाने रकमको दुरुपयोग रोक्नका लागि अनुदान निर्देशिका ल्याउन लागिएको बताइन् ।
सरकारले दिने अनुदान असल किसानसमक्ष नपुगेको गुनासो आइरहेको छ भन्दै उनले त्यसलाई व्यवस्थित बनाउन आफू लागेको बताइन् । उनले किसानलाई सरकारले दिने अनुदान पारदर्शी र निष्पक्ष बनाउन मन्त्रालयले तयारी गरिरहेको बताइन् ।
खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले कृषि बजेट सुन्नमा राम्रो लागे पनि कार्यान्वयनमा समस्या हुने बताइन् । उनले भनीन्, “बजेट राजनीतिक दस्तावेजजस्तै हो, त्यसमा लेखिएको ७५ प्रतिशत कुरा झुटा रहेका छन् । ”