काठमाडौँ । कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको एक महिना पुगेको छ । कोरोना सङ्क्रमणको अवस्था हेरेर जेठ अन्तिमसम्म निषेधाज्ञा थप्ने तयारीमा अधिकारीहरू लागेका छन् ।
काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले वैशाख १६ देखि उपत्यकामा निषेधाज्ञा जारी गरेका हुन् । सो अवधिमा निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै करिब ३३ हजार सवारी साधन र एक हजार आठ सय जनालाई ‘होल्ड’ गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार निषेधाज्ञा कार्यान्वयनका लागि ट्राफिक र अन्य गरी करिब पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
उपत्यका प्रवेशको सात नाकासहित पाँच सय स्थानमा नियमित जाँच चौकी स्थापना गरिएको छ । निषेधाज्ञा उल्लङ्घन गर्नेविरुद्ध ‘होल्ड’ कारबाहीअन्तर्गत सवारी साधनको हकमा साँझ ६ बजेसम्म र सर्वसाधारणलाई आधा घण्टा सडकमै उभ्याई सम्झाइबुझाइ गरी फर्काइँदै आएको छ । तर, पछिल्लो पटक कोभिड–१९ सङ्क्रमण व्यवस्था अध्यादेश जारीपछि जरिवाना तथा कैद सजायको तयारी गरिएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पहिलो तीन हप्ताको निषेधाज्ञामा कोरोना सङ्क्रमण नघटेपछि चौथो पटक थप कडाइ गरिएको स्पष्ट पारे । सोही रणनीतिअनुसार खाद्य, थोक तथा किराना पसल र डिपार्टमेन्ट स्टोरहरू पूर्ण रूपमा बन्द गरिएको उनको दाबी छ । अवस्था हेरेर निषेधाज्ञा थपिन सक्ने उनले बताए ।
कोरोना महामारी नियन्त्रणको अन्तिम विकल्प निषेधाज्ञा नै भएकाले कडाइ गर्नु परेको भनाइ उनको छ । सङ्क्रमितको सङ्ख्या प्रतिदिन घट्नु नै निषेधाज्ञाको प्रभावकारिता भएको बुझाइ प्रमुख जिल्ला अधिकारी पराजुलीको छ ।
केही दिनयता निषेधाज्ञा थप कडा बनाइँदा काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या तुलनात्मक रूपमा घटेको तथ्याङ्क सुनाउँदै उनले भने, “सङ्क्रमितको सम्पर्क तथा भीडबाट टाढा बस्नु नै कोरोनाबाट जोगिने उपयुक्त विकल्प रहेछ ।”
त्यस्तै महानगरीय प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालले सरकारको निर्णयअनुसार निषेधाज्ञा कार्यान्वयनमा कुनै कमी हुन नदिएको बताए । मातहतका सम्पूर्ण सुरक्षा निकायलाई सुरक्षित र मर्यादित ढङ्गले निषेधाज्ञा कार्यान्वयनमा खटाइएको उनले स्पष्ट पारे ।