पर्यटक तान्न सङ्ग्रहालय र दृश्यावलोकन स्तम्भ निर्माण

पर्यटक तान्न सङ्ग्रहालय र दृश्यावलोकन स्तम्भ निर्माण

२०७८, जेठ ३० आइतवार

  • 1.0K
    SHARES

  • पर्यटक तान्न सङ्ग्रहालय र दृश्यावलोकन स्तम्भ निर्माण

    लमजुङ । लमजुङमा पर्यटक तान्न सङ्ग्रहालय र दृश्यावलोकन स्तम्भ निर्माण भएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिका-३ सिउरु गाउँमा  सङ्ग्रहालय  र दृश्यावलोकन स्तम्भ निर्माण भएको हो । 

    प्रदेश सरकारको रु २० लाख र स्थानीयको श्रमदान रु दुई लाख पाँच हजार गरी २२ लाख रु पाँच हजारमा सङ्ग्रहालय र दृश्यावलोकन स्तम्भ निर्माण भएको बताइएको छ ।

    गुरुङ समुदायको पहिचान तथा परम्पराको संरक्षण गर्दै पर्यटकलाई लोभ्याउनका लागि सङ्ग्रहालय निर्माण गरिएको सिउरुङ पर्यटन समितिका सदस्य परकाशी गुरुङले बताउए । सङ्ग्रहालयमा गुरुङ जातिको भेषभूषा, गुरुङ जातिले प्रयोग गर्ने ढिकी जाँतो, ठेकी, राडीपाखीलगायत जन्मदेखि मृत्युसम्म प्रयोग गरिने सबै सामग्री राखिने उनको भनाइ छ ।

    त्यस्तै सोही स्थानमा दृश्यावलोकन स्तम्भ पनि निर्माण गरिएको छ । नवनिर्मित स्तम्भबाट सिउरुङ गाउँ, मस्र्याङ्दी नदी, हिमाललगायत विभिन्न रमणीय दृश्य देख्न सकिने छ । गाउँमा घरवास (होमस्टे) समेत रहेकाले यहाँ आउने पर्यटकहरुलाई भुलाउँदै उनीहरुको बसाइ लम्बाउन मद्दत पुग्ने विश्वास गरिएको छ । 

    विसं २०६५ बाट शुरु भएको सिउरुङ घरवासमा हाल १९ वटा घरवास सञ्चालन गरिएको छ । सिउरुङगाउँमा १२० घरधुरी रहेको छ । मनास्लु हिमालको काखमा रहेको सो होमस्टे समुन्द्री सतहदेखि एक हजार ८५४ मिटरको उचाइमा रहेको छ ।

    गाउँकै सामुन्ने ऐना जस्तै गरी देखिने मनास्लु हिमश्रृंखलामा पर्ने हिमालचुली, ङादीचुलीलगायतका हिमालले सिउरुङ गाउँको सुन्दरता थपेको छ ।

    सूर्योदय र सूर्यास्तको मनोरम दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ । घरवासमा पुग्ने पर्यटकलाई स्वच्छ खाना, स्थानीय कुखुराको मासु, गाउँमै उत्पादिन सागसब्जीलगायतको परिकारहरु खुवाउने गरिन्छ । साथै, गुरुङ समुदायको सांस्कृतिक पर्वहरु कृष्ण चरित्र, घाँटु, सोरठीलगायतका नाचहरु हेर्न र रोदी बस्न पाइन्छ । 

    बँेसीशहरबाट पर्यटकका लागि सिउरुङ गाउँ पुग्नलाई २४ किलोमिटर जिपमा यात्रा गर्नपर्छ । दैनिक पर्यटकको भीडभाड लाग्ने गर्ने यहाँ यतिबेला निषेधाज्ञाका कारण सुनसान छ । निषेधाज्ञा खुलेसँगै बढीभन्दा बढी पर्यटक गाउँ ल्याउने योजनामा यहाँका घरवास सञ्चालकहरु रहेका छन् । 

    २०७८, जेठ ३० आइतवार०६:१२:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार