एसईईको नतिजा साउन १५ भित्र

एसईईको नतिजा साउन १५ भित्र

२०७८, जेठ ३१ सोमवार

  • 1.9K
    SHARES

  • एसईईको नतिजा साउन १५ भित्र

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने भएको छ । विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउन १५ भित्र विद्यार्थीको हातमा नतिजा दिने तयारी बोर्डले गरेको छ ।

    बोर्डका अध्यक्ष प्रा.चन्द्रमणि पौडेलले एसईईको नतिजा साउन मध्यसम्म बोर्डले दिने र भदौबाट विद्यार्थीको नयाँ कक्षाको पठनपाठन सुरु हुने जानकारी दिए । त्यसका लागि बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गरेको छ । त्यसलाई सोमबारसम्म सार्वजनिक गर्ने तयारी छ । त्यसपछि सोही कार्यविधिका आधारमा विद्यालयबाट विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन हुनेछ । आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् । 

    विद्यालयको समयसीमा असार २०
    बोर्डले असार २० भित्र विद्यार्थीको आन्तरिक मूल्याङ्कनका सबै कार्य पूरा गर्नुपर्ने समयसीमा दिएको छ । विद्यालयले २० गतेभित्र जिल्ला समन्वय एकाइमा विद्यार्थीको अन्तिम सबै अभिलेख बुझाउनुपर्ने समयसीमा निर्धारण गरिएको जानकारी अध्यक्ष पौडेलले दिए । त्यसपछि असार मसान्तभित्र समन्वय समितिले जिल्लाका सबै विद्यार्थीको अभिलेख रुजु गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने छ ।

    सबै जिल्लाबाट अभिलेख निर्धारित समयमा आएपछि १५ दिनभित्र अन्तिम नतिजा प्रकाशन गर्न सकिने उनले बताए । विद्यालयले विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन गरे पनि विद्यार्थीको नतिजा प्रकाशन, प्रमाणपत्र जारीलगायतको काम राष्ट्रिय परीक्षा बोर्डले नै गर्ने छ ।

    मूल्याङ्कन समितिमा पाँच जना
    बोर्डले यस पटक विद्यार्थीको आन्तरिक मूल्याङ्कनलाई केही फरक गर्दै मुख्य विषय शिक्षकहरूलाई जिम्मेवार बनाएको छ । सोअनुसार विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्न विद्यालयमा पाँच सदस्यीय समिति बनाइने छ । समितिमा विद्यालयका प्रधानाध्यापक, वरिष्ठ शिक्षक, अङ्ग्रेजी, गणित र विज्ञान शिक्षक गरी पाँच जनाको मूल्याङ्कन समितिबाट विद्यार्थीको अन्तिम मूल्याङ्कन प्रमाणित गरिने छ ।

    गत वर्ष पनि विद्यार्थीको मूल्याङ्कनका लागि समिति बनाउने प्रावधान भए पनि सबै काम प्रधानाध्यापक एक्लैले गरेको गुनासो आएपछि यस पटक पाँच जनाको अनिवार्य हस्ताक्षरमा मात्र नतिजाको अन्तिम मूल्याङ्कन हुने कार्यविधि बोर्डले बनाएको छ ।

    बोर्डका अध्यक्ष पौडेलले पाँच जनाको हस्ताक्षरमा विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन नआए त्यसले मान्यता नपाउने र त्यो विद्यालयमै फिर्ता पठाइने जानकारी दिए । गत वर्षको आन्तरिक मूल्याङ्कनमा देखिएको त्रुटि कम गर्न यस पटक आन्तरिक सन्तुलनसहितको मोडालिटी बनाइएको छ । यसबाट विद्यालयमा प्रधानाध्यापकले आफूखुसी अङ्क दिने परिपाटीमा सुधार आउने र वास्तविक मूल्याङ्कनमा सहयोग पुग्ने जनाइएको छ ।

    २०७८, जेठ ३१ सोमवार०८:०७:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार