हेटौंडा । सांसद नरोत्तम वैद्य माथि दायर मुद्दा भएकामा नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलले आपत्ति जनाएको छ । सोमवार नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बाँनियाले एक विज्ञप्ति जारी गर्दै बागमती प्रदेश काठमाडौं निर्वाचन क्षेत्र नं ४ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य नरोत्तम बैद्यले बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिने क्रममा जेठ २८ गते प्रदेश सभाको रोष्ट्रमबाट प्रतिक्रिया दिनेक्रममा वर्तमान अवस्थामा देशमा ब्याप्त चरम निराशा र यसबाट उत्पन्न राजनीतिक परिस्थितिको विश्लेषण गर्दै उदाहरण क्रममा भावाबेशमा आएर दिएको अभिव्यक्ति नेपाली कांग्रेसको आदर्श, नीति र संसदीय अभ्यास र गरिमा बिपरित भएको उल्लेख गरिएको छ।
साथै सो कुरा जानकारी हुनासाथ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले सांसद नरोत्तम बैद्यले उक्त अभिव्यक्ति फिर्ता लिन निर्देशन गरेकोमा जेठ २९ गते प्रदेश सभामा सांसद बैद्यले उक्त आफुले बोलेको अभिव्यक्ति फिर्तालिइ रेकर्डबाट हटाउन सभामुखलाइ औपचारिक रुपमा अनुरोध गरेपछि तत्काल सभामुखले उक्त भनाइ रेकर्डबाट हटाउन निर्देशन दिएको अवस्थामा पनि सांसद बैद्य माथि राजनीतिक प्रतिसोधका आधारमा सरकारको दबाब र प्रभावमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उनि उपर हत्या दुरुत्साहनमा २०७८ साल जेठ ३० गते हत्या दुरुत्साहन सम्बन्धी जाहेरी दर्ता भएको जानकारी हुन आएकोले सो प्रति नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको संसदीय दलले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरेको छ।
त्यस्तै नेपालको संबिधानको धारा १८७ मा प्रदेश सभाको बिशेष अधिकारको उपधारा १ मा संबिधानको अधिनमा रही प्रदेश सभामा पूर्ण वाक स्वतन्त्रता हुनेछ, प्रदेश सभामा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाइ लिएर प्रदेश सभाको सदस्यलाइ पक्राउ गर्ने थुनामा राख्ने वा निज उपर कुनै अदालतमा कारवाही चलाइने छैन भन्ने संबैधानिक व्यवस्थाको वर्खिलाप बदनियतपूर्ण तवरबाट जाहेरी दर्ता भएकोमा पनि संसदीय दलले गम्भीर आपत्ति प्रकट गरेको छ।
सो घटनाले संबैधानिक मुल्य मान्यता र संसदीय अभ्यास माथि गम्भीर आघात पुर्याएको दलले ठहर गरेको भन्दै संसदीय दलले आवशयक परेमा यस्तो गैर संबैधानिक कार्यको सशक्त प्रतिवाद गर्ने बताएको छ ।
