काठमाडौं । नेपालको राजनिती हिजो आज नेकपा एमाले र पाँच विपक्षी गठवन्धन बीच केन्द्रित छ । केन्द्रीय सरकार र प्रदेश सरकार गठन, मुख्यमन्त्री, मन्त्री नियुक्ति जोड घटाऊमा केन्द्रीत छ । दिन प्रतिदिन एमालेका शीर्ष नेताहरु बीच नै एक अर्काप्रति, अविश्वास, आक्रोश, वैमनस्य, असहयोग, कुण्ठाका कारण राजनितीले अव कस्तो लय लेला यसै भन्न सकिने अवस्था छैन । सरकार र दलभित्रको खिचलोले प्रदेश सरकार संचालनमा समेत निकै अफ्ठेरो परेको छ । सातै प्रदेशमा किचलो छ । पार्टीले गरेका सांसद निष्काशन कार्वाही अदालतवाट पुन:स्थापनाको लहर नै चलेको छ ।
नेकपा एमाले र नेकपा माओवादी एकिकरण पश्चात दुईतिहाइको सरकारमा देखिएको आन्तरिक कलह फुटको संघार पुगेको स्वयम् अदालतले एमाले र नेकपा पार्टी आ-आफ्नो पुर्ववत् अवस्थामा गएपछि पार्टीभित्र देखिएको तीव्र ध्रुविकरणले दिन दिनै नयाँ नयाँ घटनाक्रम शुरु भएको छ । व्यक्ति व्यक्तिका हठ र अहमले एमाले पार्टी छतविक्षत भैसकेको छ ।
मुलुक वर्तमान कोरोना संकटमा न केन्द्रिय सरकार न प्रदेश सरकार न स्थानीय तहले जन अपेक्षा अनुसार सजिलैसँग काम गर्न सकेको छ न गर्न सक्ने अवस्था नै छ । कोरोना संकटका कारण मुलुकमा सरकार विरुध्द जनताको तीब्र असन्तोष छ । सरकारसँग भएका सिमित साधन र स्रोतबाट भए गरेका कामबाट कोही सन्तुष्ट हुन सकेका छैनन् । त्यस्तै सरकारले आशातीत आन्तरिक तथा वैदेशिक सहयोग पनि पाउन सकेको छैन । अर्थतन्त्र डामाडोल छ । मुलुकका सबै निकायहरु निष्कृय प्राय: देखिएका छन् ।
नेकपा एमाले भित्रै असन्तोष बढेका कारण प्रतिपक्षी लगायत हिजोको समकक्षी नेकपा माओवादी आक्रामक ढंगले सरकार असफल र गिराउन लागि परेको छ । प्रदेशहरु क्रमश: आफ्नै दलका नेताका कारण कमजोर देखिएका छन् । स्वयम् प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओलीलाई कता मात्र व्यवस्थापन गर्नु हम्मे-हम्मे परेको देखिन्छ । सत्ता साझेदारी जसपाबाट १०-११ जना मन्त्री वनाइनुले पार्टी भित्रै र जसपाका अर्को पक्षका नेताहरुबाट निकै आलोचना भएको छ ।
आन्तरिक किचलोको कारण गण्डकी प्रदेश सरकार विस्थापन भएकोछ । प्रदेश नं १ र लुम्विनी प्रदेशमा किचलो बढ्दैछ । बागमती प्रदेशमा अविश्वासको प्रस्ताव जुनसुकै दिनमा पनि दर्ता हुन सक्नेछ । अदालतबाट थुप्रै मुद्दाहरु सरकारको विपक्षमा निर्णय आइरहेको छ । प्रधानमन्त्री केपी ओली हिजो आज सरकार संचालन र पार्टी संचालनमा कमजोर देखिएका छन् । आफ्ना अत्यन्तै विश्वास पात्र स्वयम् पनि कमजोर महशुस गरिरहेका छन् । आम एमाले कार्यकर्ताहरुमा नैराश्यता छाएको छ ।
पार्टी एकताका वाधक पो हो कि ? :- पार्टीमा शुरुदेखि नै केपी ओली तर्फका विष्णु रिमाल, गोकुल बांस्कोटा, सुर्य थापा, राजन भट्टराई, खगराज अधिकारी, महेश बस्नेत लगायतका केही व्यक्तिहरुको दैनिक अभिव्यक्तिले केपी गुटलाई प्रश्रय दिएको पाइन्छ । त्यसैगरी माधव झलनाथ समुह तर्फका भीम रावल, रामकुमारी झाँक्री, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, अष्टलक्ष्मी शाक्य, राजेन्द्र राईजस्ता नेताहरुको अभिव्यक्तिले माधव झलनाथलाई प्रश्रय दिएको पाइन्छ । यस कदमबाट पार्टी जुट भन्दा पनि फुटलाई प्रश्रय दिएको देखिन्छ । यी र यस्ता पात्रहरुका कारण पार्टी एकतामा असहज भईरहेको त छैैन कार्यकर्ताका प्रश्न देखिन्छन् ।
दम्भको विजारोपण :- मुलुकमा बृहत बामपन्थी एकता गरी आगामी दशकौ दशक कम्युनिष्ट सरकार संचालन गर्ने सपना वर्तमान नेतृत्व र पुराना बामपन्थीहरुले देखेका थिए । सोही वमोजिम नेकपा एमाले मात्र हैन माओवादी लगायत स-साना वाम दलहरु जोडिएर नेकपा निर्माण भएको थियो । फलस्वरुप संसदीय निर्वाचन र प्रदेश स्तरमा वामपन्थीहरुको संसदमा दुइ तिहाइको वर्चश्व सहित सरकार निर्माण भयो । यहीबाट सरकारमा दम्भको विजारोपण भयो । सरकारले आफ्नो गती लिँदै थियो । पार्टी एकिकरण गर्दै सरकार र पार्टी आलो-पालो संचालन गर्ने एमाले र माओवादीको सम्झौता भएको थियो ।
प्रधानमन्त्री केपी ओलीले सत्ता छाड्ने दिन नजिकै आउदै थियो, प्रधानमन्त्री ओलीले पद नछाड्ने अडान लिए त्यहीबाट विवाद शुरु हुन थाल्यो । तत्पश्चात नेताहरु पक्ष विपक्षमा उभिए । माधव, झलनाथ, प्रचण्ड एकातिर र अर्कोतिर केपी ओली, इश्वर पोखरेल, प्रदिप ज्ञवाली, राम बहादुर थापा देखिए । त्यसपछि प्रधानमन्त्री केपी ओलीबाट मन्त्री, संबैधानिक अंग, राजदुत, अध्यक्ष सदस्य पदहरुमा एकलौटी नियुक्ति गरेपछि विवादले उग्र रुप लिन गयो । संसद विघटन पछि त सम्बन्ध धेरै टाढा पुगेको महशुस गर्न सकिन्छ ।
इमान्दारी प्रयास :- अर्को तर्फ वामदेव पार्टी एकिकरणको नाममा तटस्थ बसे । पार्टीका प्रभावशाली एवम् स्थायी समिति सदस्य बामदेव गौतमले आफु कुनै गुटमा नरहने र पार्टी एक बनाउने अभियानमा लाग्ने बताएर २-४ वटा बैठक भेला बोलाएर दवाव सृजना गरे । नेता वामदेवलाई दुबै पक्षले आफ्ना समुहमा लाग्न अनुरोध गरे । उनी कतै लागेका छैनन् । त्यसै कारण उनलाई दुबै पक्षले विश्वास गर्न सकिरहेको अवस्था छैन । पार्टीमा उनको कुरालाई दुबै पक्षले महत्व दिएको पाइँदैन । आज पनि पार्टी फुटबाट जौगाउन थुप्रै नेता कार्यकर्ताहरुले दुबै पक्षलाई प्रत्यक्ष अप्रत्यक्ष दवाव दिइरहेका छन् ।
द्वैध चारित्रिक पात्र:- पार्टी एकता गर्ने नाममा केपी ओली पक्षमा खुलेका नेता सुवास चन्द्र नेम्वाग, इश्वर पोखरेल, प्रदिप ज्ञवाली, लगायतका नेताहरु र माधव झलनाथ समुहका सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट र घनश्याम भुसाल लगायतका नेताहरु पार्टी एक हुने कुरा गरिरहन्छन तर टुंगोमा पुर्याउन सकिरहेका छैनन् । कार्यदलका सदस्यहरुले छलफलमा उठेका सवाल र कुराकानीहरु आ-आफ्ना गुटमा सुनाउने मात्र गरे । ठोस निर्णयको खाका नै तयार गर्नै सकेनन् । सिर्फ यसो उसो भयो सुनाउने काम मात्र भए ।
पार्टी एकिकरण गर्ने नै हो भने कार्यदलले एकताको खाका दुबै पक्षलाई मान्य हुने गरी वा त्यो खाका मान्न दवाव दुबै पक्षका नेताहरुले दुबै पक्षलाई दिन सक्नु पर्दथ्यो । वार्ता टोलीका सदस्यहरु आफ्ना गुटलाई सुनाउने तत्पश्चात शीर्ष नेताको भनाईबाट आ-आफ्ना पक्षका दुवै टोलीहरु स्वयम् कन्भिस हुने भएकोले समस्या ज्युँ का त्युँ रहिरहेको हो । त्यसैले वार्ता टोलीको इमान्दारिताप्रति शंका गर्ने प्रशस्तै ठाऊँ रहन्छ । यी एकतामा लागेका मध्यमार्गी नेताहरुले जनमतको स्वमुल्यांकन गरेर आफ्नो पद र राजनैतिक भविष्यको सुनिश्चितता गर्न मात्र खोजिरहेका त छैनन् आम कार्यकर्ताहरु शंकाको दृष्टिकोणले हेरिरहेका छन् ।
समस्या यो पनि हो ?:- सर्वोच्च अदालतको फागुन २३ गते गतेको फैसलालाई पालना नगर्नु । नेकपा माओवादीलाई पुन पार्टीमा जुटाउन नखोज्नु । १० औं राष्ट्रिय महाअधिवेशन तयारी समितिलाई खारेज गर्न नसक्नु । २०७५ जेठ २ गते फर्केर बैठक बसाउन नखोज्नु । प्रधानमन्त्री केपी ओलीले आफु बाहेक अर्को नेता नदेख्नु । एक पक्षिय ढंगबाट चल्नु । प्रचण्ड, माधव नेपाललाई मुख्य प्रतिस्पर्धी देख्नु । पार्टी र सरकार एकलौटी चलाउने गर्नु । कमजोर सल्लाहकार र सचिवालयको चयन गर्नु ।
बुझाई फरक फरक :- नेकपा एमाले पार्टी यतीखेर एउटै छ । केही सैध्दान्तिक र राजनैतिक घटना परिदृश्यले अहिले पार्टीमा दुइ समुह देखा परेको छ । नेकपा माओवादी सँग एकिकरण पश्चात पार्टी र सरकार संचालनमा देखिएको समस्या र त्यसलाई व्यवस्थापन गर्न नसकेर प्रधानमन्त्री एवम् पार्टी अध्यक्षबाट संसद विघटनका साथै पार्टीका कतिपय निर्णयहरु एक पक्षिय गर्दै गएका कारण पार्टीमा संकट देखापरेको हो । अझ पार्टी फुटको संघारमा पुग्दा केन्द्रिय तहका नेता सांसद तानातानको दृश्यले यसले झनै मलजल पायो ।
यसक्रममा गृहमन्त्री राम बहादुर थापा लगायतका ८-१० जना नेताको व्यवस्थापन नै थप चुनौतिपूर्ण रह्यो । संकटमा आफुलाई साथ दिएको प्रधानमन्त्रीले बुझ्नु भयो । अर्को पक्षले त्यसैलाई घात ठान्यो । त्यसै कारण राम बहादुर थापा लगायतका नेताहरुलाई दिएको जिम्मेवारीपनि वाधक हो भनेर कार्यदलका सबै सदस्यहरुले बुझे पनि आ-आफ्ना शीर्ष नेतालाई बुझाए पनि नेताहरुले नबुझे झै गरे । यो पनि पार्टी एकताको समस्या हो कि ?
नेकपाका युवा नेता योगेश भट्टराईले भने जस्तै केपी ओलीले दलभित्र कै माधव झलनाथलाई स्विकार्नै नसक्ने, तर राजेन्द्र महन्थ ठाकुरलाई सहजै स्विकार्ने, त्यसैगरि माधव झलनाथले प्रचण्ड शेरवहादुरलाई सहजै स्विकार्ने मनोविज्ञान तर आफ्नै दलभित्रको पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई स्विकार गर्नै नसक्ने मनोविज्ञानले काम गरेको छ । यही स्थिति दोस्रो तहका नेताहरुमा पनि स्पष्ट देखिन्छ ।
सकारात्मक संकेत :- तत्कालैको घटनालाई गण्डकी प्रदेशलाई छाड्ने हो भने नेकपा एमालेको प्रदेश नं.१, बागमती प्रदेश, लुम्विनी प्रदेशमा सरकारको नीति र कार्यक्रम सजिलै पास गरिनुले पार्टी एक हुने आधार पनि तय भएको हो कि ?
त्यसो भए के गर्ने त ?:-
१. नेकपा एमाले पार्टी एक वनाउन २०७५ जेठ २ गते फर्केको घोषणा पार्टी अध्यक्षले गर्ने, नेताहरुमाथि गरिएको कार्वाही सम्पुर्ण निर्णय फिर्ता लिएको घोषणा गर्ने,
२. वरिष्ठ माधव कुमार नेपालले पनि अहिले सम्म गरिएका गतिविधीको आत्मालोचना गर्दै फिर्ता लिने,
३. केन्द्रीय समितिको बैठक बस्नु पुर्व माधव पक्ष र केपी पक्षका २-२ जना नेताको रोहवरमा हेड टु हेड वार्ता गराउन, सैध्दान्तिक सहमती गर्ने,
४. स्थायी समितिको बैठक बोलाउने हेड टु हेड वार्तामा सहभागी कार्यदलको सदस्यले एकताको वस्तुनिष्ठ प्रस्ताव तयार गरी पेश गर्ने र सोही केन्द्रीय समितिमा लैजाने,
५. तत् पश्चात तत्कालै केन्द्रीय समितिको बैठक बोलाउने, सो बैठकले दुबै पक्षले गरेका पार्टी एकताको लागि गरिएको निर्णयलाई अनुमोदन गर्ने, पहिले दुबै पक्षबाट भए गरेका गतिविधीलाई खारेज गर्ने, सो बैठकले दुबै पक्षले गरेका पार्टी एकताकोलागि गरिएको निर्णयलाई अनुमोदन गर्ने, पहिले दुबै पक्षबाट भए गरेका गतिविधीलाई खारेज गर्ने, तत्पश्चात् माओवादीबाट थपिएका वा प्रवेश गरेका सदस्यहरुलाई केन्द्रीय समितिमा स्वागत गर्ने, सदस्यता प्रदान गर्ने, बैठकमा सहभागी गराउने,
६. नवौ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको महाअधिवेशन तयारी समिति गठन गर्ने,
७. गोलाप्रथाबाट दुबै पक्षबाट (७७ जिल्ला) ३८-३७ दुवै पक्षबाट अध्यक्ष सचिव, (अध्यक्ष-सचिव) प्रत्यक्ष विजयी संघीय, प्रदेश सांसद, स्थानीय तहमा विजयी मेयर उपमेयर, सम्मिलित जिल्ला महाअधिवेशन तयारी समिति निर्माण गरी महाअधिवेशनमा जाने,
८. पार्टी र सरकार प्रधानमन्त्री केपी ओलीले नै संचालन गर्ने,
९. दुबै पक्षबाट सम्मिलित ५-५ जनाको उच्च स्तरीय समिति निर्माण गरी सो समितिको निर्णयवाट पार्टी संचालन गर्ने सरकारलाई सहयोग पुर्याउने ।
कटुसत्य यही हो :- नेपालमा कम्युनिष्ट शासन व्यवस्था मन नपराउने देशी विदेशी शक्तिको हात रहेको कुरा आम नेता कार्यकर्ता नागरिकले थाहा पाइसकेका छन् । प्रत्यक्ष अप्रत्यक्ष कतिपय नेताहरु विदेशी नटवरलालहरुको दलदलमा फसेका प्रष्ट छन् । दुई तिहाइको सरकारले आगामी दशकौ दशक कम्युनिष्टहरुले शासन गर्ने भए भनेर कम्युनिष्ट पार्टीलाई फुट तर्फ यिनै नटवरलालको ईशारामा हाम्रै नेताहरुले पार्टीलाई फुटको दिशा तर्फ धकेलिदिएका हुन् ।
सिंगो नेकपा फुट्यो । यसबाट अस्थिरता चाहनेहरुलाई मलजल पुगेको छ । अव जनता समाजवादी पार्टी र नेकपा एमाले फुटको निकट छ । नेकपा एमालेलाई फुटाउन वाह्य शक्तिको निकै ठुलो हात छ । यस विषयमा दुबै पक्षको शीर्ष नेताहरुलाई राम्रो हेक्का छ । जस जसले सुझबुझ पुर्याउनु पर्ने हो पुर्याएमा वर्तमान संकट टर्न सक्छ कि ? आज सम्म नेकपा फुटको संघारमा छ । जुट्ने कि फुट्ने स्यवम् नेताहरुले जान्ने कुरा हुन् । कि कसो ?
राजनीतिक विश्लेषक एवं शिक्षक संघका उप-महासचिव पन्तका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस्