सियोल । उत्तर कोरियाका नेता किम जोङ्ग–उनले आफ्नो देशमा खाद्य सङ्कट बढेको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।
शीर्ष नेताहरुको बैठकलाई सम्बोधन गर्दै नेता किमले देशको खाद्य अवस्था तनावपूर्ण बन्दै गएको बताएका हुन् ।
गएको वर्षको तुफानका कारण आएको बाढीका कारण खेतीपातीमा क्षति भएकाले कृषि क्षेत्रले देशको माग धान्न नसकेको भन्दै उनले माग अनुसारको उत्पादनमा जोड दिनेगरी नीति बनाउन सम्बधित अधिकारीलाई निर्देशन दिए ।
उत्तर कोरियामा खाद्यान्न, फलफूल र तरकारीलगायतका अन्य कृषि उपजको मूल्य निकै बढेको खबर आइरहेका छन् ।
उत्तर कोरियाले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा लिने भन्दै आफ्नो सीमा बन्द गरेको छ । जसका कारण चीनसँगको उसको व्यापारिक गतिविधि ठप्प छ । खाद्यान्न, मलखाद तथा उर्जाका लागि उत्तर कोरिया चीनमा निर्भर रहँदै आएको छ ।
यस्तै उसको परमाणु कार्यक्रमका कारण लागेको अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण पनि उत्तर कोरिया समस्यामा छ ।
सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय समिति बैठकमा नेता किमले देशको खाद्य अवस्थाबारे धारणा राखेका थिए । बैठक यो हप्ता राजधानी प्योङ्याङ्गमा सुरु भएको हो ।
बैठकमा नेता किमले गएको वर्षको तुलनामा यो वर्ष औद्योगिक उत्पादन एक चौथाईले बढेको बताएका छन् । बैठकमा अमेरिका र दक्षिण कोरियासँगको सम्बन्धलाई लिएर पनि छलफल हुने बुझिएको छ ।- एजेन्सी ।
विज्ञको सुझाब लिन विपक्षी नेता राहुल गान्धीको भारतीय प्रधानमन्त्रीलाई आग्रह
नयाँ दिल्ली । भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीले बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो गल्ती स्वीकारी विज्ञहरूको सहयोग लिने बित्तिकै भारतको पुनर्निर्माण सुरु हुने दावी गरेका छन् ।
कामका शिलशिलामा भएका गल्तीलाई इन्कार गर्नु समस्या समाधान नहुने उनले बताए ।
भारतको गरिबीको बारेमा विश्व बैंकको तथ्याङ्कलाई उद्धृत गर्दै कोभिड महामारीको बेला विश्वव्यापी गरिबीबारे सार्बजनिक तथ्याङ्कमा भारतमा गरिबीको हिस्सा ५७.३ प्रतिशत रहेको भन्ने विवरण सबैको चासोको बिषय भएको गान्धीले बताएका छन् ।
गान्धीले ट्वीटरमा प्रतिवेदनको आधारमा सार्वजनिक प्रतिक्रियामा भनिएको छ, “यो सरकारको महामारीलाई व्यवस्थापन गर्दा भएको कमजोरीको परिणाम हो तर हामीले भविष्य हेर्नु पर्छ । प्रधानमन्त्रीले आफ्ना गल्तीहरूलाई स्वीकारेर विज्ञहरूको सहयोग लिने बित्तिकै हाम्रो देशको पुनर्निर्माणको थालनी हुनेछ ।”
“तथ्याङ्कलाई अस्वीकार मात्रै गरेर कुनै समस्या समाधान हुँदैन,” उनले थपे ।
गान्धीले उक्त रिपोर्टको ग्राफ उद्धृत गरे र भने, “महामारीको समयमा विश्वव्यापी गरिबीको वृद्धिमा भारतको भूमिका उल्लेख्य छ । गरिब र मध्यम आय वर्गका लागि विश्वव्यापी परिवर्तनको हिस्सा क्रमशः ५७.३ प्रतिशत र ५९.३ प्रतिशत रहेको छ ।”
विश्वव्यापी गरीबी रेखा मुनि परेका वा मध्यम आय समूहबाट बाहिर निस्केको उक्त हिस्सा भारतको लागि पनि चिन्ताको बिषय बनेको गान्धीको धारणा छ । -एजेन्सी ।