काठमाडौं । वामपन्थी विश्लेषक एवं प्रगतिशिल लेखक प्रतिक ढकालले नेकपा एमालेका तमाम कार्यकर्तालाई गम्भिर प्रश्न गरेका छन् । एमाले पार्टी सत्ता र २-४ वटा नियुक्तिमा भागबण्डा नमिलेको झोँकमा फुुटको संघारमा पुगेको ढकालको विश्लेषण छ ।
कार्यकर्ताले खबरदारी गरेर पार्टी जोगाईदिए उनैले मन्त्री, मुख्यमन्त्री पाउने हुन्, ठेक्कापट्टाबाट करोडौं कुम्ल्याउन उनैं सक्षम हुनेछन् । अनि सोझा कार्यकर्तामात्र पार्टी -पार्टी भन्दै किन प्रेसर बढाउने उनले प्रश्न गरेका छन् ।
त्यस्तै सत्तामा पुग्ने बित्तिकै कार्यकर्तालाई चटक्कै छाडेर आफन्त श्रीमती- भाइ- साला- साली- सासू- आमा- काकी- छोरा- सम्धी- गर्ल फ्रेण्ड- दाजु- दिदी- भिनाजु- बुहारीजस्ता निकटतमलाई राजदूत, जिएम, संचालक बनाउँछन्, तपाई औषधी उपचार नपाएर छटपटाउँदा कसैले संझियो ? उनको गम्भिर प्रश्न छ ।
तपाईँ हामी एक भोट हाल्ने निकम्माहरु मात्र किन पार्टी -पार्टी भन्दै उफ्रिरहेका छौं ? भोलि चुनावआउँदा गाउँ या नगरबाटै यिनीहरुलाई जमानत जफत गरेर ठेगान लगाउन हामी तयार छौं, के एमाले पार्टी नभएका देशहरुमा विकास भएकै छैन ? उनले थप आक्रोश व्यक्त गरेका छन् ।
पार्टीमा ४१ वर्ष रहेर लेबी बुझाएको र टाउकोमा कात्रो बाँधेर ज्यानै जोखिममा राखेर सारा भूमिगत कामहरू गरेको हुनाले यो मेरो गहिरो अनुभव बोलेको हो, कसैको प्रायोजित २-४ पेगको राग बोलेको होइन, ढकालले भनेका छन् ।
चुनावको समयमा कुरुप अनुहार छानीछानी तह लगाउन ढिलाई नगरौं भन्ने आव्हानका साथ ढकालले सामाजिक संजालमा लेखेका छन्, "पार्टी रहे जो प्रधानमन्त्री हुने हो, मन्त्री हुने हो, मुख्यमन्त्री हुने हो, सांसद हुने हो, मेयर हुने हो, गतिला गतिला नियुक्ति हात पार्ने हो, श्रीमती- भाइ- साला- साली- सासू- आमा- काकी- छोरा- सम्धी- गर्ल फ्रेण्ड- दाजु- दिदी- भिनाजु- बुहारीजस्ता निकटतम् आफन्तलाई राजदूत, जिएम, संचालक बनाउने हो, ठूलाठूला ठेक्काबाट करोडौं कुम्ल्याउने हो ...... तिनीहरूलाई त यो पार्टी चाहिएको छैन भने तपाईं-हामी मूला 'एक भोट' हाल्ने निकम्माहरू चाहिँ किन उफ्रीउफ्री पार्टी पार्टी भनिरहेका छौं हँ ? यो पार्टी फुटेर के देशै डुब्छ ? आकाश खस्छ ?
नेकपा एमाले भन्ने पार्टी नभएका देशहरूमा विकास भएको छैन ? अमेरिका, जापान, जर्मनी, अष्ट्रेलिया, नर्वे, स्वीट्जरल्याण्ड, बेलायतजस्ता देशमा पनि एमालै भन्ने पार्टी छ ? त्यसैले हामी पनि यस्तो भ्रमबाट मुक्त बनौं । यी लडे पनि लडून् र मरे पनि मरून्- जनताले यिनको यो भागबण्डे खेलमा चासो राख्नै चटक्कै छोडिदिऊँ । २-४ वटा नियुक्तिको भागबण्डामा कुरो मिल्यो भने यी भोलि नै मिल्न पनि बेर लाउँदैनन् । अनि ङिच्च गरेर फोटो खिचेर फेरि हामीलाई नै बेबकूफ बनाउन बेर लाउन्नन् ।
तपाईंले के पाउनुभएको छ र बेकारमा यो पार्टीका लागि आफ्नो प्रेसर बढाउनु हुन्छ ? यहाँ कामसमेत नपाएर विदेशिनु भएको छ, कोही बोलेको छ तपाईंको श्रमको सम्मानमा ? कुनै नियुक्ति पाउनुभएको छ ? कुनै लाभको पदमा हुनुहुन्छ ? करोडौं आर्थिक सहायता बाँडिदा तपाईंलाई कसैले संझियो ? कि औषधि उपचारको पैसो पाउनुभयो ?
अनि के 'खाई न पाई, छालाको टोपी लाई' भनेझैं बुरुक्क बुरुक्क उफ्रिनुहुन्छ पार्टी पार्टी भन्दै ? पार्टीले तपाईंलाई कहिल्यै सम्झेको छ ? छातीमा हात राखेर सोच्नोस्- तपाईंको कुनै काम छ पार्टीमा ? अझ तपाईं पनि मजस्तै पुरानो संगठित एमाले हो भने त अब झन् मजाले किनारा लाग्नुभए हुन्छ । कसैले खोज्नेवाला छैन तपाईंलाई अब । 'वन साङ्लोले घर साङ्लोलाई खायो' कामरेड । अब त बादल र राजेन्दर कामरेडहरूका कुराहरू मात्र बढी सुनिनेछ पार्टीमा । ह्वाँहरूकै योगदानले मात्र पार्टी अडिएको छ, कुरो बुझ्नुभो नि ?
त्यसैले बरु चुनाव होस् । र, आगामी चुनावमा 'हामी मूलधारका हौं' भनेर घमण्डी बनेका सबै पार्टीका गरेर २०० जति यी कुरूप र पुराना अनुहारलाई तलै गाउँमै ठेगान लगाइदिऊँ । जमानत नै जफत हुने स्थितिमा पुर्याइदिऊँ । अनि बल्ल सुरू हुनेछ हाम्रो राजनीतिक शुद्धीकरणको अभियान ।
नेपालका लागि अब नेपालीले नै केही गर्नु पर्छ । यी 'कम्फर्टेबल' १२ बूँदे र नागरिकताका व्यापारीहरूबाट अब केही हुनेवाला छैन। यी लेण्डुपहरूबाट अब यो देश जोगिँदा पनि जोगिँदैन ।
आफ्नै हातमा 'मताधिकार' को मौका आएका बेला पनि उहीँ पुरानै ठाउँमा भोट हाल्ने हो भने चाहिँ अब जे गरे पनि नेतालाई गाली गर्न पनि छोडौं । मेरा कारणले नै यो देश खोक्रिँदैछ, म आफैं मासुभात, केही दिनको ज्याला र १०-२० लिटर पेट्रोलमा बिकेका कारणले नै यो मान्छेले देश लुट्ने लाइसेन्स पाएको हो भनेर आफैं चित्त बुझाऔं, पछुतो मानौं र घरै बसिरहूँ ।
पुनश्च: आवेशमा आएर तत्कालै तातो टिप्पणी नगरिदिनु हुन पनि म सबै साइबर सेनाज्यूहरूसमक्ष हार्दिक अनुरोध गर्दछु । जुन बेला मैले तत्कालीन नेकपा मालेको सदस्यता लिएँ, शायद त्यो बेला तपाईंहरूमध्ये धेरैजसो त जन्मनु पनि भएको थिएन होला । पार्टीमा ४१ वर्ष रहेर लेबी बुझाएको र टाउकोमा कात्रो बाँधेर ज्यानै जोखिममा राखेर सारा भूमिगत कामहरू गरेको हुनाले यो मेरो गहिरो अनुभव बोलेको हो, कसैको प्रायोजित २-४ पेगको राग बोलेको होइन ।"