एकताको अन्तिम कसरत

एकताको अन्तिम कसरत

२०७८, आषाढ १८ शुक्रवार

  • 1.0K
    SHARES

  • एकताको अन्तिम कसरत

    असार १८, काठमाडौं । मध्यमार्गी नेताहरूको हप्तौंको मेहनत खेर गएन भने एमाले एकताको सन्निकट पुगेको छ। अबको मतभेद केही प्राविधिक विषयमा अल्झिएको छ। वरिष्ठ नेता माधवकुमार नेपाल र उनी पक्षधर नेताहरूले पार्टीलाई जेठ २ को स्थितिमा फर्काउन माग राख्दै आएका थिए। अडान त्यागेर अध्यक्ष केपी शर्मा ओली त्यसमा सहमत मात्र भएनन्, महाधिवेशन आयोजक कमिटी भंग गरेका छन्।

    महाधिवेशन आयोजक कमिटीकै बुधबारको बैठकले उक्त कमिटी खारेज गरेको हो। त्यही क्रममा शुक्रबारका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठकमा नेपाल पक्षीय नेताहरू नजाने भएका छन्। त्यसमा उनीहरूको धारणा छ, ‘अवैध भनेर खारेज गरिएको महाधिवेशन आयोजक कमिटीले बोलाएको बैठकमा जानु उचित ठानिएन।’ आजको अन्नपूर्ण पोष्टमा सुरेन्द्र काफ्लेले लेखेका छन् । 

    दुवै पक्षका दोस्रो पुस्ताका केही नेता एकता पहलमा लगातार बस्दै आएका छन्। त्यही क्रममा ओली पक्षीय नेताहरूलाई नेपाल पक्षीय नेताहरूले शुक्रबारको बैठक रोक्न प्रस्ताव पठाएका छन्। ओलीले त्यसमा के गर्ने, निर्णय लिइसकेका छैनन्।

    ‘विधि र विधानअनुसार पार्टी सञ्चालन गरौं भन्ने हाम्रो मान्यता हो’, नेपाल पक्षीय युवा नेता गोकर्ण विष्टले भने, ‘विधान बाहिरको आयोजक कमिटीले बोलाएको बैठक रोक्न हामीले भनेका छौं। एकता हाम्रो प्राथमिकता हो।’ वार्तामा सहभागी नेताहरूका अनुसार एकता प्रक्रिया सकारात्मक ढंगले ‘सार्थक निष्कर्ष’ उन्मुख छ।

    अर्का नेता भीम आचार्यले पनि महाधिवेशन आयोजक समितिले बोलाएको बैठकमा नजाने नेपाल पक्षले निर्णय गरेको बताए । ‘पार्टी विधान र अदालतले समेत अवैध भनेको संरचनाले केन्द्रीय कमिटी बनाउने, बैठक तोक्नेजस्ता काम गर्नु मान्य छैन’, नेता आचार्यले भने, ‘हामी एकताका पक्षमा छौं। विधान र सहमतिका आधारमा अघि बढौं भन्न चाहन्छौं।’

    यसैबीच दुवै पक्षका मध्यमार्गी नेता एकतालाई सार्थकतामा पुर्‍याउन निरन्तर संवादमा छन्। उनीहरू अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच वार्ता गराउने प्रयास गरिरहेका छन्। स्रोतले बिहीबार राति वार्ता हुने जानकारी दिए पनि यो समाचार तयार पार्दा राति १० बजेसम्म कुराकानी भइसकेको जानकारी प्राप्त भएको छैन।

    संस्थापन पक्षबाट उपमहासचिव विष्णुप्रसाद पौडेल, स्थायी समिति सदस्य सुवास नेम्वाङ तथा शंकर पोखरेल, विष्णु रिमाल, माधव पक्षका उपमहासचिव घनश्याम भुसाल, सचिवहरू भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे सहभागी छन्। पछिल्लो समयमा नेता पृथ्वीसुब्बा गुरुङ पनि एकताका लागि जोडतोडले लागेका छन्। सुब्बा दुवै नेतासँग निरन्तर सम्वादमा छन्।

    २०७८, आषाढ १८ शुक्रवार०८:३९:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार