एमाले कार्यदलद्धारा संयुक्त वक्तव्यको मस्यौदा तयार

एमाले कार्यदलद्धारा संयुक्त वक्तव्यको मस्यौदा तयार

२०७८, आषाढ २२ मंगलवार

  • 881
    SHARES

  • एमाले कार्यदलद्धारा संयुक्त वक्तव्यको मस्यौदा तयार

    काठमाडौं । सत्तारूढ दल एमालेको आन्तरिक विवाद समाधानका लागि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले जारी गर्ने संयुक्त वक्तव्यको मस्यौदा तयार भएको छ। वरिष्ठ नेता नेपालले यसअघि बनेको कार्यदल ब्युँताउनुपर्ने र कार्यदलबाट आएको धारणालाई स्वीकार गर्ने बताएपछि सोमबार साँझ अध्यक्ष ओलीले कार्यदल ब्युँताएका थिए।

    त्यसलगत्तै कार्यदलले मस्यौदा तयार गरी दुवै नेताहरूलाई इमेलमा पठाएको हो। सोमबार साँझ सिंहदरबारमा बसेको कार्यदलको बैठकले पार्टीको विवाद सकिएको र पार्टी एकढिक्का भएको सन्देश दिन दुई नेताको संयुक्त वक्तव्य आउनुपर्ने अपरिहार्यतालाई महसुस गर्दै त्यसको मस्यौदा दुवै नेतालाई इमेल गरिएको हो। सोमबार कार्यदल ब्युतिएसँग एमालेको विवाद समाधानोन्मुख भएको छ। आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् । 

    यसअघि अध्यक्ष ओली पक्षबाट पाँच र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट पाँच गरी १० सदस्यीय कार्यदल बनाइए पनि दुईपटकभन्दा बढी बैठक नबसी निष्क्रिय भएको थियो। रामबहादुर थापाले राष्ट्रिय सभाको निर्वाचनमा पराजय भोगेपछि ओलीले कार्यदलको बैठक बस्न नदिई निष्क्रिय बनाएका थिए। जेठ ७ मा बस्ने भनिएको कार्यदल बैठक त्यसपछि बस्न सकेको थिएन। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन र कार्यदलमा रहेका भीम रावललगायतलाई कारबाही गरेपछि औपचारिक संवाद टुटेको थियो।

    नेपाल पक्षका २३ सांसदले विपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि कार्यदल कुनै पनि प्रकारको औपचारिक संवाद भएको थिएन। त्यसअघि कार्यदलको दुईपटकसम्म बैठक बसेको थियो। तर त्यो बैठकमा केही विषयमा पनि सहमति जुट्न सकेको थिएन।

    कार्यदल ब्युँतिएपछि सोमबार साँझ सिंहदरबारमा बसेको बैठकले यसअघि भएका अनौपचारिक छलफलमा उठेका विषयलाई आपसमा बुझ्ने र लिपिबद्ध गर्ने निर्णय गरेको छ। ‘अनौपचारिक संवादका क्रममा जे–जति प्रगति भएको छ, त्यसलाई लिपिबद्ध गर्ने र ओली–नेपाल दुवै नेतालाई त्यसबारे जानकारी दिएर अघि बढ्ने सहमति भएको छ,’ कार्यदलमा सहभागी पार्टीका सचिव गोकर्ण विष्टले बताए । उनका अनुसार अहिलेसम्म सबै विषय समेटिएकाले पार्टीको विवाद समाधानोन्मुख छ।

    आइतबार बिहान ओली पक्षका नेताहरूले नेपाललाई भेटेर पार्टीको विवाद मिलाउन र त्यसको अग्रसरता लिन आग्रह गरेका थिए। उनीहरूले दुवै नेतालाई भेटेर संयुक्त वक्तव्य दिनसमेत आग्रह गरेका थिए। जवाफमा नेपालले ओलीसँग तत्कालै भेटघाट गर्न अरूचि देखाएका थिए भने विवाद मिलाउने भए पुरानो कार्यदल ब्युँताएर काम थाल्न आग्रह गरेका थिए । त्यसपछि आइतबार साँझ ओलीले भीम रावललाई बोलाएर छलफल गरेका थिए । 

    छलफलमा ओलीले रावलसँग हस्ताक्षर फिर्ताको विषय उठाएको भए पनि रावलले त्यो सम्भव नभएको तर पार्टीभित्रको विवाद मिले अदालतको आदेशलाई कार्यान्वयन गरेर जाने विषयमा आफूहरू सकारात्मक रहेको बताएका थिए । 

    २०७८, आषाढ २२ मंगलवार०७:५५:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार