खलङ्गा । जुम्लामा ‘फाइबर टू द होम इन्टरनेट’ सेवा सञ्चालनमा आएको छ । अनलाइन सेवा प्रवाहलाई छिटोछरितो गर्न तथा उपभोक्ताको राहतका लागि निजी लगानीमा सिम्पल इन्टेलिजेन्ट सिस्टम टेक्नोलोजी प्रालिले सो इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो ।
फाइबर टू द होम इन्टरनेट सेवा जिल्लामा केही समयअघिदेखि सञ्चालनमा भए पनि औपचारिक रुपमा सञ्चालनमा आजदेखि आएको छ । सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालले सो इन्टरनेट सेवाको उद्घाटन गरेका हुन् । सेवामा गुणस्तरीयता र विश्वसनीयतामा ध्यान पुर्याउन आवश्यक रहेको विभागका महानिर्देशक हमालले बताए ।
चालु आवभित्रै देशका सबै स्थानीय तहलाई इन्टरनेटको पहुँचमा पुर्याउने सरकारको लक्ष्य भएकाले नेपाल टेलिकम तथा सिम्पललगायत अन्य निजी संस्थाले गाउँगाउँमा इन्टरनेटको पहुँच पुर्याएर सरकारको लक्ष्य पूरा गर्न सहयोग मिल्ने विभागका महानिर्देशक हमालले उल्लेख गरे । उक्त सेवा सञ्चालनको नीतिमा भएका अप्ठ्यारालाई सहजीकरण गर्न विभागले आवश्यक पहल गर्ने उनले बताए ।
फाइबर टू द होम इन्टरनेट सेवाको लाइन हालसम्म जुम्लाका १०० सेवाग्राहीलाई वितरण गरिएको छ । सिम्पल इन्टेलिजेन्ट सिस्टम टेक्नोलोजी प्रालिका अध्यक्ष प्रतिभा शाहीले भनीन्, “सामान्य अवस्थाबाट शुरु गरिएको व्यवसाय समयको विकाससँगै सबैको साथ सहयोगले युग सुहाउँदो प्रविधिको विकासमा अग्रस्थानमा आएका छौँ ।”
सिम्पल इन्टरनेटले जुम्लाका आठ स्थानीय तहसँगै साबिक कर्णाली अञ्चलका चार जिल्लामा इन्टरनेट सेवा दिँदै आएको छ । अहिले सो इन्टरनेट सेवा सदरमुकाम केन्द्रित भए पनि आवश्यकताअनुसार गाउँगाउँमा पुर्याइने शाहीले बताइन् ।